MENU

अस्ट्रेलियाको सवारी दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु, ३ घाईते

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सवारी दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्सबाट हिउँ खेल्न स्नो माउण्टेन पुगेका विद्यार्थीको समुह चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ३ घाईते भएका छन् ।
कुमा नजिकै रहेको मनारो हाइवेमा दुर्घटना भएको थियो । बिहान सवेरै भएको दुर्घटनामा परी २ जनाको घटनास्थलमै मुत्यु भएको थियो भने तीन जना घाईते भएका थिए । घाइतेमध्ये १ जनाको स्थानीय कूमा अस्पतालमै उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेकाले केही बेरमा नै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्ट्रेलियाबाट संचालित अनलाईन समाचार पोर्टल नेप्लिज अस्ट्रेलियनले जनाएको छ । अन्य घाईते दुईलाई भने हेलिकप्टरबाट क्यानबेरा अस्पताल पुर्याइएको थियो । क्यानबेरा अस्पतालमा उपचाररत २ को स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको क्यानबेरास्थित नेपाली दुतावासले नेप्लिज अस्ट्रेलियनलाई जानकारी गराएको छ ।
प्रहरीले यसबारेमा केही पनि सूचना सार्वजनिक गरेको छैन । मृतकहरु सुवेदी र भण्डारी थरका युवाहरु रहेको बताइएको छ ।
क्यानबेरास्थित दुतावासले मृतकका परिवारलाई खबर गर्न सुरु गरिसकेको छ । यस सम्बन्धमा थप अपडेट हामी उपलब्ध गराउने छौं ।