MENU

फेसबुकसम्बन्धी अस्ट्रेलियाको मिडिया बार्गेनिङ कोड कानुनले विश्वमा कस्तो प्रभाव पार्ला ?

Australia passes law forcing Google and Facebook to pay news publications.
Australia passes law forcing Google and Facebook to pay news publications.

सीएनएन । लामो विवादपछि फेसबुकले अस्ट्रेलियामा समाचारका पेजहरू पुनःस्थापित गराइदिएको छ । तर सामाजिक नेटवर्क र समाचार एजेन्सीहरूबीचको यो लडाइँ दुनियाँका लागि सुरुवात मात्र भएको विज्ञहरू बताउँछन् ।

गत बुधबार अस्ट्रेलिया सरकारले विश्वकै पहिलो किसिमको कानुन पारित गरायो । यसले मिडिया उपभोक्ता र फेसबुकबीचको अन्तरसम्बन्ध स्पष्ट पारिदिएको छ भने भविष्यमा यस किसिमका कानुनहरू अझ बढी ल्याउन अन्य मुलुकहरूलाई मार्गनिर्देशनसमेत गराएको विश्वास गरिन्छ । सो नियमले प्राविधिक कम्पनीहरूलाई प्रभावकारी रुपमा समाचार सामग्री वापत् तिनका प्रकाशकहरूलाई पैसा तिर्न बाध्य बनाइदिएको छ ।

त्यसैले यो क्षण समाचार र प्राविधिक उद्योग दुवैका लागि यादगार र ऐतिहासिक बन्न पुग्यो । यस्तोमा यो कानुनका लेखक, प्रतिस्पर्धा निरीक्षक रड सिम्सले यो नियमले गुगल र फेसबुकको एकल बजार शक्तिलाई सम्बोधन गरेकाप्रति उत्साव मनाएको बताए ।

अस्ट्रेलियाबाहिर यसले कसरी प्रभाव पार्छ ?

प्रकाशकहरूले वर्षौँदेखि गुनासो गर्दै आएका छन् कि फेसबुक र गुगल, यी दुई प्राविधिक कम्पनीहरूले समाचार एजेन्सीको विज्ञापनमार्फत हुने कमाइ खोसिरहेका छन् जसमार्फत मिडिया सञ्चालन हुने गर्छ । यसको प्रतिक्रियामा प्राविधिक कम्पनीहरूले चाहिँ आफूले विश्वलाई एकै ठाउँ जोडेर प्रयोगकर्तालाई बहुमूल्य अनुभव दिलाइरहेको बताउने गरेका छन् ।

विज्ञापनदाताले यसबाट दुर्लभै मनग्ये कमाइ गरिरहेको पनि तिनको दाबी छ । तर वास्तवमा यस किसिमको बहसको प्रत्यक्ष असर आमसर्वसाधारणलाई पर्ने गर्छ । किनकि पर्याप्त लगानी प्राप्त समाचारको अभावले लोकतन्त्रलाई कमजोर बनाइदिन सक्छ ।

त्यसैले अस्ट्रेलियादेखि अमेरिकासम्मका सांसदहरूले फेसबुक र गुगललाई बाहिरी स्रोतबाट समाचार संकलन गरेकामा त्यसको शुल्क चुकाउन विभिन्न तरिकाको खोजी गरिरहेका छन् । तिनका अनुसार प्राविधिक कम्पनीहरूले समाचार र जानकारीका स्रोतहरुलाई हित हुने कुनै काम नगरि तिनका सामग्रीबाट लाभ उठाइरहेका छन् ।

प्राविधिक कम्पनीका प्रमुखले चाहिँ आफूहरूले समाचार साइटलाई निःशुल्क सर्च इन्जिन र सोसल प्लेटफर्म प्रदान गरिरहेको बताएका छन् । अहिले फेसबुक र गुगल दुवैले आफूहरू समाचार कम्पनीसँग व्यापारिक सम्बन्धमा प्रवेश गर्ने बताइरहेका छन् तर अर्कोतर्फ अस्ट्रेलियामा प्रस्तावित केही विशेष सर्तहरूप्रति विरोध जनाएका हुन् । अन्ततः निष्कर्षमा अन्य मुलुकहरूले पनि अस्ट्रेलियाको बाटो अपाउने अब पक्का छ ।

यस्ता सम्झौताले कसलाई फाइदा ?

अस्ट्रेलियामा कार्यान्वयन हुने यो नयाँ कानुनले अहिलेका लागि रुपर्ट मडोक्स न्युज कर्पलाई सबैभन्दा ठूलो फाइदा पुग्नेछ । यो समाचार एजेन्सीले ठुल्ठूला प्राविधिक कम्पनीविरुद्ध वर्षौँदेखि आवाज उठाउँदै आइरहेको थियो र गत साता मात्र गुगलसँग करोडौँ डलरको सम्झौता गरेको हो । त्यस्तै अन्य ठूला मिडियाहरूले फेसबुकबाट पनि चेक प्राप्त गर्नेछन् ।

तर यसमा साना या क्षेत्रीय समाचार व्यवसायहरूचाहिँ छुट्न सक्ने अस्ट्रेलियन ब्रोडकास्टिङ कोर्पोरेसनले रिपोर्ट गरेको छ । यस्तोमा केही संसदहरूले सबै पैसा एउटैलाई मात्र जाने र विस्तृत मिडिया बजारमा नपुग्नेसम्बन्धी चिन्ता व्यक्त गरिरहेका छन् । त्यसैले पनि अरु देशहरूमा यस किसिमको नीति लागु हुनुअगाडि यो विषयमा पनि ख्याल राख्न जरुरी देखिएको छ ।

अरु देशले के गर्लान् ? कहिले गर्लान् ?

क्यानडासहित अन्य मुलुकहरूले अहिले प्राविधिक कम्पनीमाथि आफ्नै किसिमका कानुन अपनाउन चाहेको बताइरहेका छन् । यो कति समयमा होला भन्नेचाहिँ निश्चित छैन । फेसबुकका कार्यकारी निक क्लेगले यसअघि एक ब्लग पोस्टमा आफ्नो कम्पनी समाचार प्रकाशकहरूसँग सहकार्य गर्न अधिक इच्छुक रहेको बताएका थिए । उनले यसमा आगामी तीन वर्षभित्र समाचार उद्योगमा कम्तीमा पनि एक अर्ब डलरको लगानी गर्ने योजना व्याख्या गरेका हुन् ।

गुगलले पनि यसअघि यही प्रतिबद्धता जनाएको थियो । विज्ञहरूका अनुसार अबको दुई-तीन वर्षमै प्राविधिक कम्पनी र मिडियाबीचको व्यापारिक सम्बन्ध सामान्य बन्न सक्नेछ जसले विश्वभरि संचार कम्पनीहरूलाई आर्थिक रुपमा ठूलो बढावा मिल्ने अपेक्षा गरिएको छ ।