MENU

अस्ट्रेलियन इंगलिश

 

“तिमी के लेख्छौ हँ फेसबुकमा सयौं लाइक्स आउछन त ! ” उसले भन्यो “मेरो कम्पनीको पेजमा पनि त्यति धेरै लाइक्स हुदैन ।”
“म लेखक हुँ ।” मैले भने ।

 

“तर यो त सब अर्कै भाषामा छ त?” उसले फेसबुक तिर देखाउदै भन्यो । “हेर्दा त अरेबिक जस्तो देख्दो रैछ ।”
“होइन! यो मेरो नेपाली भाषा हो ।” मैले भने । “म प्रायः नेपालीमा लेख्छु ।”

 

“इंग्लिशमा किन लेख्दैनौ?” उसले म तिर फर्कदै भन्यो । ”इमेल लेखाइ बाट म अनुमान गर्छु, तिम्रो लेखाई त यहाँका धेरै अंग्रेजी बोल्ने मान्छेहरुको भन्दा पनि राम्रो छ !”
“हो र !” म अलिकति घमण्ड मिसिएको लामो हाँसो हासें ।
अनि एकै छिनमा ठट्टा गर्दै भने । “तर तिम्रो भाईले मेरो इंग्लिश बुझ्दैन त !”
“त्यसको कुरा नगर । त्यसैलाई राम्रो संग आउदैन ।” उसले आजीत भएझै उता तिर फर्कदै भन्यो ।

उनीहरु मुस्लिम हुन । सायद लेबनानका । पुर्खौ देखि यहि बस्दै आएका छन् । परिवार पनि ठुलो छ । मुस्लिम परिवार । मैले भन्नु नपर्ला – सबै अल्लाहको वरदान ।

 

उनीहरु परिवार मिलेर बिजनेश गरेका छन् – हेल्थ एण्ड फिटनेस वायरहाउस । अस्ट्रेलियामा छ वटा स्टोर छन् । एउटा मल्टी मिलिनियर कम्पनि – आफ्नै परिवार मिलेर चलाउछन ।

 

घरको जेठो छोरोले इन्जिनियरिंग पढ्दा पढ्दै चौथो बर्षमा पढाइ छोडेर बिजनेश शुरु गरेछ ।
‘पढेर के काम’ – उसलाई एकदिन सुर चलेछ । बाँकी सारा भाइहरुलाइ पनि पढ्न बन्द गरिदिएछ । अनि बिजनेश शुरु ।
त्यो कम्पनीको अनलाइन सिस्टम मैले हेर्दिने गर्छु – शनिबार र आइतबार ।

 

दाजु संग मेरो राम्रो कुरा भइरहन्छ । तर उसको एउटा भाइले बोलेको भने मैले बुझ्दिन र मैले बोलेको पनि उसले बुझ्दैन । उ यति छिटो बोल्छ र के-के बोल्छ – कहिलेकाहीं त उसका शब्द मैले गुगलमा पनि भेटाउउदीन ।

 

उ संग शुरुको दिनको भेट सम्झेर मलाइ अहिले पनि हाँसो छुट्छ । अफिसको पहिलो दिन ढोकाबाट पस्दै गर्दा उसले मलाइ भनेको थियो – “हवाया माइट ?”
मैले बुझिन । म ट्वाल्ल परेर हेरें अनि खिसिक्क हासें – सबैले सजिलै बुझ्ने सबै भन्दा सजिलो भाषा ।
पछी सम्म सोचिरहें – के भनेको होला यसले । अफिस बाट फर्कने बेला बल्ल दिमागमा क्लिक भो – त्यो शब्द त ‘हाउ आर यु?’ को अपभ्रंश पो रैछ ।

 

धेरै दिनपछी अस्ति एक दिन फेरी उ संग भेट भो – शनिबारको दिन ।
“आजकल कता हाराको?” मसंग हात मिलाउदै उसले भन्यो ।
“उ हाम्रोमा दुइ दिन मात्रै काम गर्छ । हामि धेरै दिन उसलाई एफोर्ड गर्न सक्दैनौ । महँगो छ ।” छेउमा बसेको उसको दाईले ठट्टा गर्दै भन्यो ।
उ हाँस्यो ।
“आजकल भाउ बढ्यो कि क्या हो?” उसले भन्यो ।
“होइन! मैले सिटिको आइटी कम्पनिमा फुलटाइम जागिर पाएँ ।” मैले भने ।

 

“सिट गो ब्रो” उसले भन्यो ।
के भन्यो मैले बुझिन । फेरी हासेरें टारिदिएँ ।
“सिट गो ब्रो” उसले फेरि पनि म तिर हेर्दै भन्यो ।
म फेरि हासें । नबुझेको बेलामा जानेकै त्यहिँ ।

 

“अनि तलाई इंग्लिशमा समस्या भएन?” उसले ठट्टा गर्ने स्वभावमा भन्यो । “तेरो इंग्लिशले काम गर्दो रैछ?”
त्यसैबेला मलाइ मेरो बोसको अस्तिको एउटा घटना याद आयो । हाम्रो कम्पनीको एउटा ब्रान्च एटलान्टमा पनि छ । त्यसको लागि बोस अमेरिका गइरहन्छिन । त्यहाँका क्लाइन्टहरु उनी बोल्यो कि हास्न थाल्छन रे । उनी यति छिटो बोल्छिन रे कि उनीहरु कहिलेकाही त केहि पनि बुझ्दैनन् रे ।

 

अस्ति भन्दै थिइन् – मेरो त अमेरिकामा वेईज्जत नै भइसक्यो । केहि बोल्ने हुदैन, सब हाँस्न थाल्छन ।
“मलाई गाह्रो भाको छैन बरु तँलाइ चाँही गाह्रो पर्न सक्थ्यो” त्यो सम्झे पछी मैले उसलाई जिस्काउदै भने । “हाम्रोमा प्राय अमेरिकाका क्लाइन्टहरु छन । तँ बोलिस भने उनीहरुले बुझ्दैनन् ।”
उनीहरु प्राय अफिसियल चिठीहरु पनि लेख्दैनन । केहि लेख्नु पर्यो कि मलाई भन्छन ।

 

मैले देख्दा उनीहरु प्राय दुइ काम गर्छन – बोल्ने र सुन्ने । त्यसमै पारङ्गत छन, आवश्यकता भन्दा बढी नै । हुन त प्राय मान्छेले गर्ने त्यहि नै हो । तर पनि ममा एउटा भ्रम के रहेछ भने यहाँका सबै मान्छे एकेडेमिक पढाइ गरेकै हुन्छन, युनिभर्सिटी गएकै हुन्छन । त्यसैले पढ्ने लेख्ने कुरामा पनि पारङ्गत नै हुन्छन होला । यहाँ निर म फेल खाएछु ।

 

पढ्ने र लेख्ने काम गर्नु उनीहरुलाइ दिक्क लाग्छ । त्यसैले त्यस संग सम्बन्धि अफिसको सबै काम मलाई दिन्छन ।
मेरो एकेडेमिक लेखाइ उनीहरुलाई मन पर्छ । तर म बोल्न भने उनीहरुलाई भेट्न सक्दिन । आजकल भने अलि बानी पर्दै गएको छ । कहिले काहीं डर पनि लाग्छ, यहाँ बस्दा बस्दै कतै यिनीहरु जस्तै बढी पारङ्गत पो भइने हो कि !

 

निर्मल ज्ञवाली  “फ्रिडम टु डाई” कथासंग्रहका लेखक हुन् ।

 

याे पनि पढ्नुहाेस् ।

कोभिड-१९ बिरुद्बकाे भ्याक्सिनका लागि  अस्ट्रेलियाले ३.२ बिलियन डलर लगानी गर्दै