MENU

अष्ट्रेलियन महिला पत्रकार चिनियाँ नियन्त्रणमा

सिड्नी । गत अगस्टदेखि नै चीन सरकारको नजरबन्दमा रहेकी अष्ट्रेलियन पत्रकार चेंग लीलाई चीनले घोषित रुपमै पक्राउ गरेको छ ।

राष्ट्रको गोप्य सूचना सार्वजनिक गरेको आरोपमा चीन सरकारले उनलाई औपचारिक रूपमा पक्राउ गरेको हो ।

चिनियाँ टेलिभिजन सीजीटीएनका लागि कार्यरत चेंगलाई पक्राउ गरेपछि सोमबार अस्ट्रेलियाकी विदेशमन्त्री मारिस् पाइनले दुई देशबीचको सम्बन्ध यस घटनाले झन् बिग्रिएको प्रतिक्रिया दिएकी छन् ।

विदेशमन्त्री पाइनले विज्ञप्ति निकाल्दै उक्त घटनाप्रति आपत्ति जनाएकी थिइन् । अष्ट्रेलियन पत्रकार चेंग चीनमा जन्मिएर अष्ट्रेलियामा हुर्किएकी थिइन् । ९ वर्षजति सीएनबीसीमा काम गरेपछि उनी चाइना ग्लोबल टेलिभिजन न्युज (सीजीटीएन)मा आबद्ध भएकी थिइन् ।

उनी पक्राउ परेपछि सीजीटीएनले समेत उनको प्रोफाइल आफ्नो वेबसाइटबाट हटाएको छ । २०१८ मा उनले आफ्नो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यंग्य गर्ने गरी एउटा भिडियो प्रस्तुत गरेपछि उनको चर्चा र विवाद भएको थियो ।

पछिल्लो घटनासँगै चीन र अस्ट्रेलियाबीच सम्बन्ध थप बिग्रिँदै गएको टिप्पणी हुन थालेको छ ।