MENU

एनआरएनएमा बद्री केसी समूहको उम्मेदवारी घोषणा; उपाध्यक्षमा अस्ट्रेलियाबट धर्मराज अधिकारी

Badri KC Candidate NRNA President

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष बद्री केसीको समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ । केसीको टिमले संघको १०औँ विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार तथा कूटनीतिक नियोगलगायतसँग सहकार्य गर्ने बताएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको न्यूनतम तलब अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (यूके), डीबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अस्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया)लाई उम्मेदवार बनाएका छन् । त्यस्तै, महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिंखडा (यूके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्षमा यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कस्ता छन् केसीका एजेन्डा ?

एनआरएनका वर्तमान उपाध्यक्ष समेत रहेका केसीले मूलतः नौवटा एजेन्डा अघि सारेका छन् । जसमा व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड, संस्थागत पुनर्संरचना एवं सुद्धढीकरण, हकअधिकार, एनआरएन फाउन्डेसन, ज्ञान सीप तथा प्रविधिसहितको एनआरएन छन् ।

साथै, नेपाली पर्यटन प्रवद्र्धन, युवा महिला तथा दोस्रो पुस्तालाई जोड्ने तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य लगायतका एजेन्डा छन् । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन गन्तव्य मुलुकका कूटनीतिक नियोगसँग सहकार्य गर्ने भनिएको छ । मुख्यतः केसीले आर्थिक कूटनीतिलाई अघि बढाउने एजेन्डा अघि सारेका छन् ।

१० अर्बको सुरुआती पुँज रहेको एनआरएन फन्डलाई विस्तार गर्ने, १८३ दिनभन्दा बढी विदेशमा बस्ने नेपाली तथा विद्यार्थीलाई पनि एनआरएनको परिभाषामा समेट्ने एजेन्डा पनि छन् । नेपाली नागरिकताको निरन्तरताको कार्यान्वयन र विदेशमा बस्ने नेपालीलाई पनि विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न पहल गर्ने केसीका एजेन्डा छन् ।

नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांककोरुपमा अघि बढाउने र आउँदो वर्ष विशेष सम्मेलनको आयोजना गरिने भनिएको छ । अन्तर्राष्ट्रिय थिंक ट्यांकसँग सहकार्य गर्ने एजेन्डा पनि राखिएको छ ।

कोरोनाले थलिएको नेपालको पर्यटनलाई उकास्न विशेष प्याकेज ल्याउने केसीको योजना छ । नेपाल फर्किएका नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने एजेन्डा पनि छ ।