MENU

बेलायतमा फेरि लकडाउन, जोन्सन भन्छन्- हामी संघर्षको अन्तिम चरणमा छौं

British Prime Minister Boris Johnson has announced a new national lockdown for England until at least mid-February.

लन्डन- कोरोना भाइरस महामारी फेरि तीव्र रुपमा फैलिएपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रुअरी मध्यसम्मका लागि देशव्यापी लकडाउन घोषणा गरेका हुन्।

उनले नागरिकलाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न, नियमित व्यायाम गर्न र चिकित्सकको सल्लाहमा मात्र घरबाहिर निस्कन अपिल गरेका छन्।

बेलायतमा कोरोना भाइरसको नयाँ महामारीले भयानक रुप लिइरहेको बताइएको छ। यस्तै संक्रमण दर पनि बढ्न थालेको छ।

प्रधानमन्त्री जोन्सनले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै तीव्र रुपमा फैलिएको यो महामारीविरुद्धको लडाइँ निर्णायक मोडमा रहेको बताएका छन्। उनले भनेका छन्, ‘बेलायत संघर्षको अन्तिम चरणमा छ।’

लकडाउनका कारण विद्यालयलगायत सबै ठाउँ बन्द रहनेछन्।

जोन्सनले भनेका छन्, ‘हाम्रा अस्पतालहरु कोरोना महामारीसँग जुध्नका लागि पहिलाभन्दा निकै दबाबमा छन्। त्यसैले कोरोना भाइरसको नयाँ रुपलाई नियन्त्रणमा राख्न सबै मिले सकेसम्म सबैथोक गर्न जरुरी छ। बेलायतमा राष्ट्रव्यापी लकडाउन हुनेछ। सरकार एकपटक फेरि तपाईंहरुलाई घरमै रहन निर्देशन दिन्छ।’

उनका अनुसार बेलायतमा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमितको संख्या २७ हजार पुगेको छ।

उनले भनेका छन्, ‘हामीले इतिहासमै ठूलो र व्यापक खोप अभियान सञ्चालन गर्दै छौं। बेलायतमा पूरै युरोपको तुलनामा धेरै मानिसलाई खोप लगाइसकिएको छ।’

प्रधानमन्त्री जोन्सनले पूर्वनिर्धारित योजनाअनुसार खोप अभियान अघि बढेमा फेब्रुअरीसम्ममा प्राथमिकतामा रहेका मानिसलाई पहिलो चरणको खोप लगाइसकिने बताए। राेयटर्स