MENU

एमाले अध्यक्षमा केपी ओलीको फराकिलो जित

CPN UML President KP Oli
CPN-UML Chairman KP Oli has been re-elected as the party Chairman securing overwhelming votes while his only contender Bhim Rawal received moderate votes.

सौराहा– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिएका छन्। १०औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गरेका हुन्।

निर्वाचन आयोगद्वारा प्राप्त परिणाम अनुसार ओलीले १८४० मत पाएका छन् भने रावलले २२० मत पाएका छन्। जम्मा २१५३ मतदातामध्ये २०९६ जनाले मत दिएका थिए। जसमध्ये ३६ जनाले अध्यक्षका कुनै पनि उम्मेदवारलाई मत दिएनन्।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए। आठौं महाधिवेशनमा उनीहरु दुवै जना सोही पदमा पराजित भएका थिए। आठौंमा उनीहरु दुवै एउटै प्यानलमा थिए। नवौंमा भने फरक–फरक प्यानलबाट निर्वाचन लडेका थिए।

ओली २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका थिए। त्यतिबेला खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत मात्रै पाएका थिए। २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा भने ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए। त्यतिबेला ओलीले १०५९ मत पाउँदा नेपालले १००३ मत पाएका थिए।

ओलीले दुईपटक चुनाव लडेका नेताहरु खनाल र नेपाल अहिले पार्टीमा छैनन्। उनीहरुसँग निकट रहेका थुप्रै कार्यकर्ता खनाल-नेपालले गठन गरेको पार्टी एकीकृत समाजवादीमा लागेका छन्। खनाल-नेपालले पार्टी गठन गरेसँगै एमालेमा ओलीको एकछत्र प्रभाव देखिन्छ। जसको पुष्टि अध्यक्षको मत परिणामले पनि गर्छ।

याे पनि पढ्नुहाेस् ।

यी हुन् १०औँ महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी