MENU

महिला विश्वकपको फाइनलमा इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने

England-Australia will clash in the final of Women’s World Cup 2022
England-Australia will clash in the final of Women’s World Cup 2022

आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधिका लागि साविक विजेता इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

विहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई १३७ रनले पराजित गरी इंग्ल्याण्डले अस्ट्रेलियासँगको भेट पक्का गरेको हो । वेष्ट इण्डिजलाई १५७ रनले हराउँदै अस्ट्रेलिया यसअघि नै फाइनलमा पुगिसकेको छ ।

ओपनर ड्यानी वयाटले १२५ बलमा १२९ रनको सानदार शतकीय पारी खेलेपछि इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९३ रनको योगफल खडा गरेको थियो । यसबीचमा उनी पाँचपल्ट क्याट आउटको खतराबाट जोगिएकी थिइन् ।

वायटले पाँचौं विकेटका लागि सोफिया डङ्कलेसँग ११६ रनको साझेदारी गरेकी थिइन् । सोफियाले ६० रन बनाइन् । त्यस्तै इनिङको अन्त्यतिर सोफी इक्लेस्टोनले ११ बलमा २४ रन जोडिन् ।

दक्षिण अफ्रिकाले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी लक्ष्य पूरा गर्ने अभियानमा सफलता पाउन सकेन । उत्कृष्ट ओपनिङ जोडी लिजेली ली र लाउरा वोल्भर्ट सस्तैमा आउट भएपछि इंग्लयाण्डले खेल नियन्त्रणमा राख्न सक्यो ।

आन्या श्रवसोलले सुरुवाती तीन ओभरभित्र यी दुईलाई आउट गरेपछि दक्षिण अफ्रिको मध्य र पुछारक्रमलाई ध्वस्त पार्न सोफीले ६ विकेट लिइन् । करिअरकै उत्कृष्ट बलिङ गरेकी उनले ८ ओभरमा ३६ रन खर्चेर ६ विकेट लिँदा दक्षिण अफ्रिका ३८ ओभरमा १५६ रनमै समेटियो ।