MENU

नेपाली पर्यटनमा फुड टुरिजम

Food Tourism in Nepal Article By Suraj Pradhan

 

कुरा थियो सन् २०१० को । भोलि बेलुकाको सिड्नी उडान थियो तर किताब छोड्नै मन थिएन । एकनासले घोरिदै थिए, डुब्दै थिए, मन हतास भएको थियो, झन् उर्जा विकसित हुदै थियो त एक मन निरुत्साहित हुदैपनि थियो ।  ‘ सोच ‘ पुस्तकमा नतमस्तक भईरहदा त्यसले दिएको मूल मर्म अर्थात् देशमै केही गर्न सकिने र हामी जस्ता तमाम युवाहरुलाई उद्दमीको बाटोमा लैजाने एउटा बुलन्द आवाजले झक्झकाई रहेको थियो ।

 

त्यसको लगभग ७ वर्ष पश्चात अकस्मात कर्ण शाक्यले धेरै पछिको फेसबुक फ्रेन्डलाई स्वीकार गर्नु भयो  । मलाई जसरीपनि कर्ण शाक्यसँग भेट गर्नु छ। फेसबुकमा धेरै म्यासेज गरे पश्चात टुप्लुक्क एउटा प्रतिउत्तर आइपुग्यो, खुसिको सिमानै रहेन ।

 

सन् २०१७ डिसेम्बरमा सगरमाथा बेस क्याम्प पप अप रेस्टुरेन्ट संचालन गरिएको न्युज हेर्नु भएको रहेछ ।  त्यतिबेला म वन स्टार हाउस पार्टीको सगरमाथा बेसमा रेस्टुरेन्ट संचालनगर्ने (अहिलेको चलनचल्ती भाषामा भन्नुपर्दा पप अप रेस्टुरेन्ट) सिरिजका लागि नाम्चे पुगेको थिए ।

 

सम्पूर्ण टिमसहित निमन्त्रणा गर्नु भयो । एउटा उमंग प्रख्यात सेफहरुलाई नेपाली खानेकुराका बारे बेलिबिस्तार लगाउदै सगरमाथाको आधार सिविरमा पुग्नु थियो भने अर्को खुशी कर्ण शाक्यलाई भेट्न । यो मानसपटलमा त्यो दुई घन्टे वार्तालाप अझैपनि ताजा यादगार छ । उत्तेजित हुदै म पनि नेपाली खानाको विस्तार र प्रवर्धनका सम्भावनाहरुको सोच हुँदै यसको खोजदेखि के- कसरी गर्न सकिन्छ भन्ने विषय – वस्तुहरु र कर्ण शाक्यको अस्ट्रेलियाका दिनहरुबारे गफ्फिदै थियौ । खानामा एउटा जादु छ, जुन हामीले पस्कन जान्नु पर्छ, र त्यसबाट पैसा कमाउनु पर्छ, कर्ण शाक्य भन्दै हुनुहुन्थ्यो । एक नासले मैले सुन्दै थिए उहाँको कुराहरु  । एक घण्टाको लागि मात्र मैले समय मागेको तर निक्कै रोचक वार्तालाप हुदै जादाँ त्यो क्षणलाई अझ गाडा मिठो दुध चियाले बनाइरहेको थियो ।

 

उहाँ आफु श्रीलंकाको महावाणिज्य दुत छदाँखेरि गरेको श्रीलंकन फुड फेस्टिबलबारे निक्कै रोचक किस्सा सुनाउनु भयो ।  कर्ण शाक्यको प्रभावकारी शब्दहरुको जादुमा लठठिदै नेपाली खानाको प्रवर्धनबारेमा हामी गफ्फिदै दुई घण्टा बितेको पत्तैभएन ।  लगत्तैको सिड्नी फर्काई पश्चात हामीले टेस्टिंग नेपालको परिकल्पना गर्यौ, सोहि बमोजिम अप्रिल ७, २०१७ तारिखका दिन नेपाली फुड फेस्टिबलपनि सम्पन्न भयो  । यद्दपी धेरै कठिनाई थिए, सबैकोसाथ र समर्थनमा हामीले उक्त फुड फेस्टिबलको आयोजना गर्यौ । धन्यवाद कर्ण शाक्य म लगायत तमाम युवाहरुको प्रेरणा बन्नु भएकोमा । उहाँले पर्यटनको क्षेत्रमा देख्नु भएको सपना आज बामे सराइबाट धेरै माथि पुगेकोमा कसैको दुई मत नहोला, यद्दपि फड्को मार्न भने धेरै छ।

 

Nepalese Food Festival in Sydney

रैथाने नेपाली खानाको प्रचार-प्रसार अभियान: कर्ण शाक्यको परिकल्पना 

 

मेई २०१८ मा स्वर्गीय पर्यटन मन्त्री रबिन्द्र अधिकारीज्युबाट नेपाली हेरिटेज कुकबुक प्रकाशित भए लगतै नेपालमा विधिगतरुपमा नेपाली खानेकुराको बारेमा सबै संचार मध्यममा हल्ला-खल्ला भयो। नेपाल टुरिजम बोर्ड, होटल एसोसिएसन अफ नेपाल, रेस्टुरेन्ट एण्ड बर एसोसिएसन अफ नेपाल र सेफ्स एसोसिएसन अफ नेपालको संयुक्त प्रयास र विनायक शाहज्युको संयोजकत्वमा ७-८ महिनाको अथक प्रयासपछि कुकबुकले मुर्तरुप लिएको थियो।

 

कर्ण शाक्यको गज्जबको लगाव निक्कैनै सर्हानिय थियो। त्यसै लगत्तै ‘एक्स्पेरिएन्स नेपाल’ नामक अभियान नेपाल टुरिजम बोर्डले परिकल्पना गर्यो जसको अगुवाई आयरल्याण्डका दिपेश शाक्यज्युले गर्नु भयो। कस्तो सुवर्ण अवसर अस्ट्रेलियामा मलाई संयोजक छानियो।

 

नेपाली खाना – नेपाली खाना भनेर मात्र केहि हुदैन – हालसालै कर्ण शाक्यसंगको भेटघाटमा उहाँको कडक आवाजमा यतार्थ गुञ्जिरहेको थियो। नेपाली खानासंगै यसलाई पस्किनुपनि सक्नु पर्यो। सोह्रै आना सहि हो मनमनै मैले गमे। विदेश र स्वदेशमैपनि सरकारी कार्यालयहरुमा भोज-भतेरहुदाँ अनेक अनेक बिदेशी परिकारहरु झल्कने, तर नेपाली खानाहरुको नामो-निशान नदेखिने उहाको गुनासोलाई मैले सुनिमात्र राखे। उहाले जोडसँग अब त कुनैपनि होटेलले स्टारलिदा नेपाली रेस्टुरेन्टपनि समावेश गर्नुपर्ने आवश्यक रहेको जिकिर गरे। मैले मुन्टो हल्लाए, समर्थन जनाउने हेतुले।

 

सन् १९७४ मा अमेरिकामा पढेकी नानी हिरा कंस्कारद्वारा लिखित ‘नेपाली किचन’ नामक कुकबुकको प्रकाशन भए देखिनै नेपाली खानाले बिस्तारै विश्व बजारमा आफ्नो पहिचान बनाउन शुरु गरेकोमा सन् २००७ मा प्रकासित ‘टेस्ट अफ नेपाल’ले कायापलटनै गरिदियो । अमेरिकामै बसोबास गर्दै आउनु भएको ज्योति पाठकद्वारा लिखित यो कुक्बुक गर्मंड पुरस्कारबाट सम्मानित भएको थियो । प्रख्यात भारतीय फुड लेखक माधुर जेफ्फ्रेइले आफ्नो एउटा पुस्तकमा सन् १९६५ बाट बेलायतमा नेपाली बसोबास सुरु हुनासाथ नेपालीसेफहरुको इतीहासको वर्णन गरेर नेपालीहरु ब्रिटिश पल्टनमा खाना बनाउन सिक्दै निपुण हुदैगएको कुरा लेखिकी थिईन। नेपाली खानाको प्रचार-प्रसारमा सेफहरुको ठुलो भूमिका हुनेमा कुनै दुईमत नै छैन।  तर सेफहरू एकत्रित एक मुलमन्त्र लिएर जानु अहिलेको नितान्त आवश्यकता हो।

 

सेफहरुमात्र नभई नेपाली खानाको बिकासमा खेतमा उब्जनी गर्ने किसानहरु, अनुसन्धानकर्ता, बैज्ञानिकहरु देखि रेस्टुरेन्ट, होटेल, पर्यटन कम्पनीहरु र सबै भन्दा महत्वपुर्ण भूमिका सरकारको हुनु पर्दछ।  

 

खानालाई कसरी पर्यटनमा जोड्दै थाईलण्ड, मलेशिया, अस्ट्रेलिया, जापान, मेक्सिको, पेरु, स्पेन, टर्की, क्यारेबियन क्षेत्रका देशहरु लगायत विभिन्न देशहरुले पर्यटनमा आमुल पर्यटन गर्दैछन् भन्ने मुलभूत कुरा अब हामीले अध्ययन गर्न जरुरि छ।

 

Nepalese Food Festival in Sydney MOMO

 

काठमाडौँमा एसियाकै पहिलो वर्ल्ड फुड ट्राभल एसोसिएसनको फुड कन्फेरेन्स

 

फुड टुरिजम अर्थात् खाना पर्यटनको संसारकै सबै भन्दा ठुलो संस्था वर्ल्ड फुड ट्राभल एसोसिएसनको नेपालकालागि म प्रतिनिधि छनौट हुनासाथ मेरो सपना – एसियाकै पहिलो वर्ल्ड फुड ट्राभल एसोसिएसनको फुड कन्फेरेन्स नेपालमा गर्ने थियो।

 

टु टेबल्स, यु-टर्न र सोसयल टुर्सको संयुक्त आयोजनामा फलत: यहि मेई २४-२६ मा एसोसिएसनका संस्थापक एरिक वोल्फ़ साथै इंडियाका फुड टुरिजम बिशेसज्ञ डा सौरभ कुमार दिक्षितहरुलाई निमन्त्रणागरि पार्क भिलेजमा एसियाकै पहिलो वर्ल्ड फुड ट्राभल एसोसिएसनको फुड कन्फेरेन्स भव्यताकासाथ आयोजना गर्यौ। आभारी हुनैपर्छ ति तमाम सहयोगीसंस्था र कम्पनीहरुप्रति – नेपाल टुरिजम बोर्ड, टर्किस एयरलायन्स, केजिएच – पार्क भिलेज, रेसिडेन्सी होटल एकेडेमी, स्काई ट्राभल, एल जी नेपाल, होटल एसोसिएसन, गैर- नेपाली आवासीय संघ, दि हब, रैथाने, ग्रीन ग्रोथ, गेट कलेज, फुड एण्ड वाइन, हिमालयन राबिट फार्म, ग्लोबल नेप्लिज सेफ्स फेडेरेसन, पाटा नेपाल, कर्मा कफी, भिलेज क्याफे, नेवा: लहना तथा सहायतागर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुप्रति नमन।

 

एरिक वोल्फ़को एउटा प्रश्नले मनमा खट्केको थियो – के कन्फेरेन्स मात्र खाना पर्यटनको बिकासकोलागि पर्याप्त छ ? बिल्कुलै छैन। वर्षको एउटा भेलागर्दैमा केहि हुदैन भनेर भने। कार्यक्रमको सल्लाह हुदैगर्दा नेपालमा फुड ट्रेलहरु विकासगर्ने कुरामा हामी पुग्यौ र काठमाडौँ फुड ट्रेलको परिकल्पना भयो। रबिन सिटौला, राज ज्ञवाली, कुमार चालिसे, शिशिर कंडेल, बुल्सन लाम्गादे मेरा आयोजनाका साथीहरुमिली काठमाडौँमा पहिलो चोटी यो ट्रेलको शुरुवात फुडट्रेक्स २०१९ मा गर्यौ। फुड टुरिजमका प्रडक्टहरुमा यस्ता फुड टुर वा ट्रेल संसारमा ज्यादै प्रख्यात छन्।

 

के हो फुड टुरिजम

 

वर्ल्ड फुड ट्राभल एसोसिएसनका अनुसार – “फुड टुरिजम कुनैपनि ठाउँको साचिकै अनुभूति गर्नका निमित्त खानेकुराका माध्यमद्वारा गरिने क्रियाकलापलाई बुझिन्छ।” सन् २००१ मा एरिक वोल्फ़ले कलिनरी टुरिजम: दि हिडन हार्भेस्ट नामक श्वेत पत्र तयार पारि सकेपछि त्यसको दुई वर्षपछि इन्टरनेसनल क्युनिलरी टुरिजम एसोसिएसन स्थापना गरे। फुड टुरिजमको शिक्षा, रिसर्च तथा नयाँ ट्रेन्डहरुको विषयमा विश्वको अग्रणी संस्थामा गनिदै आएको यो संस्था सन् २०१२ मा वर्ड फुड टुरिजम एसोसिएसनका नामले परिवर्तित भई आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै गैरहेको छ। अमेरिकामा केन्द्रियरही हाल युरोप लगायत एसियामा फैलिदै गरेको यस संस्थाको प्रतिनिधि भई एसियाकै पहिलो फुड सम्मेलन गर्न हामी सफल भएकोमा फेरीपनि आभार प्रकट मैले गर्ने पर्छ।

 

हस्पिटालिटी र टुरिजमको माध्यमद्वारा कुनैपनि ठाउँको खाना संस्कारलाई संरक्षण र प्रचार-प्रसारगर्नु नै वर्ल्ड फुड ट्राभल एसोसिएसनको प्रमुख अभियान हो। वर्ड फुड ट्राभल एसोसिएसनले बर्षनी फुड टुरिजमसम्बन्धि अध्यनहरु फुड टुरिजम विज्ञहरुको संलग्नतामा गर्ने गर्दछ। हालसालै मात्रपनि यसले एउटा रिपोर्ट तयार परेको छ जुन निशुल्क अनलाइन हेर्न मिल्दछ।

 

नेपालमा फुड टुरिजम 

 

फुड टुरिजम, अर्थात् खाना पर्यटन नेपालको सन्दर्भमा बिल्कुलै नौलो शब्दावली जुन अहिलेसम्म नेपालमा कार्यान्वयन भएकै छैन । मैले केहि वर्ष अघि यसबारे सल्लाह लिन खोज्दा नेपालका पर्यटन क्षेत्रमा लागिरहेका पनि अनविज्ञ भएको देख्दा दङ्ग परेको थिए । खाना त पर्यटन अन्तर्गत नभई हस्पिटालिटी उद्ध्योगको मात्र हिस्सा हो, पर्यटनको प्रकार हैन भन्ने उत्तर पाउँदा उदेक लाग्थ्यो । हुन पनि नेपालको आफ्नै मौलिक खानेकुराहरुको प्रबर्धन नभैरहेको अवस्थामा खाना पर्यटनको कल्पना गर्नुपनि सम्भव छैन, तथापि संसारका विकसित देशहरुमा फुड टुरिजम अर्थात् खाना पर्यटन निक्कै प्रभावकारी हुदै गईरहेको क्षेत्र अर्थात् व्यबसाय हो ।

 

देश मात्र चिनाउने नभई पर्यटनको प्रभावकारी प्रबर्धन माध्यम यस किसिमको फुड टुरिजमलाई लिईने गरिएको छ ।  खाना संस्कृतिको धरोहर हो र संस्कृति देशको सम्पति हो, तसर्थ खाना जुनसुकैपनि देशको परिचयात्मक पाटो हो ।

 

कर्ण शाक्यको ‘ सोच ‘ पुस्तकको उक्ति भन्न मनलाग्यो- “पर्यटकहरुलाई दृश्यावलोकन गराउने क्रममा सधै हामीले पशुपति, स्वयम्भु, दरबार स्क्वायर मात्र देखायौ । मादल बजाएर ‘ पानको पात’ गीतकै भरमा हामीले तीन दशक ट्रेकिंगको व्यापार संचालन गर्यौ ।” भन्नुको तात्पर्य समयानुसारको बदलाव हामीले हाम्रो पर्यटनमा भित्र्याउनु पर्दछ । अहिले संसारमा पास्ताको लागि ईटाली, वाइनको लागि फ्रान्स, बार्बीक्युको लागि टेक्टास, सुशीकोको लागि जापान एक- आपसमा पर्यावाची जस्तै भैसकेको छ। नेपालसंगै पर्यटनमा बामे सरेको थाईल्याण्ड कहाँ बाट कहाँ पुगिसक्यो पाक्यसंसारमा, यसैगरि दशक यता भियतनाम खानाले चमत्कारनै देखाईसकेको हामीसबैमा अवगत छ ।

 

नेपाल को लागि ? यो सोचनीय प्रश्न मेरो मनमा मात्र नभई हामी सबै नेपालीहरुको मनमा सधै उब्जिरहने एउटा विषय हो ।

सगरमाथा र बुद्धको देश – सायद यो वाक्यहरु हामीले पचासौ बर्षअघि देखि लिइरहेका छौ ।

सगरमाथा र गौतम बुद्ध जस्तै गरि के हाम्रो खानेकुराले विश्वमा नेपाल चिनाउन सकिदैन ?

सोचमग्न हुने गर्दछौ।

 

 

के माथि उल्लेख गरेजस्तै नेपालभरी यस्ता फुड ट्रेलहरुको बिकास गर्न सकिन्न ?

हाम्रो अबको योजना नेपालभरी यस्ता फुड ट्रेलहरुको बिकास गर्ने हुन सक्दैन ?

सपना देख्ने, बिपनामा कार्यन्वयन गर्ने – हाम्रो मूल मन्त्र हुनु पर्दछ।

 

वर्ल्ड फुड ट्राभल एसोसिएसनका संस्थापक अध्यक्ष एरिक वोल्फ़संग काठमाडौँको भलाकुसारीमा नेपाललाई कसरी खानाबाट चिनाउन साथै पर्यटनमा नयाँ आयाम ल्याउन सकिन्छ भन्ने बारे निक्कै वार्तालापहरु भए।उनका अनुसार विभिन्न देशहरु जसले खानाका माध्यमबाट पर्यटनमा निक्कै छलांग मारे, ती देशको पर्यटन निकायले यी चार निम्न बुदाँगत कुराहरुमा निक्कै ध्यान पुर्याए:

  • खाना पर्यटनको उपयुक्त साधनहरुको पहिचान 
  • खाना पर्यटनको लागि सरकारको नीतिहरुको मुल्यांकन 
  • खाना पर्यटनका क्षेत्रहरुको प्रचार-प्रसारकोलागि सहि ढंगको रणनीति 
  • खाना संस्कृति र पर्यटनको विकासको लागि उपयुक्त अनुसन्धान, शिक्षा, जन-चेतना तथा अभिमुखी कार्यक्रमहरु 
  • संयुक्त अभियानको परिकल्पना 

 

नेपाल तथा बिदेशका तमाम पर्यटन र हस्पिटालिटी सम्बन्धि संस्थाहरुसंग छलफल गरी के हामीले नेपालकालागि प्रभावकारी योजना बनाउन सक्दैनौ ? के हामीले खानालाई प्रमुख एजेन्डा बनाएर रणनीति तयार गर्न सक्दैनौ ? समयानुसार इन्टरनेटमा सामाजिक संजालहरुको प्रभावकारी मार्केटिंग के हामी अनुसरण नगर्ने ? के परिवर्तित प्रविधिको भरपुर सदुपयोग नगरी पुरानै ढर्राले चल्ने ? हो, अहिले हाम्रो खानेकुराहरु लुकेका छन्। अझैपनि हाम्रो पाक्य संस्कृतिहरुको कथा- गाथा सुनाईएका छैनन्, भनिएका छैनन्, कोरिएका छैनन्, गाईएका छैनन्।

 

तथापि फुड टुरिजमको नयाँ आयामलाई हामीले अब बुझ्नु नै पर्छ। हाम्रो खाना संस्कृतिहरुको गीत घंकिनै पर्छ।

 

(वर्ल्ड फुड ट्राभल एसोसिएसनका नेपालका लागि प्रतिनिधि सुरज प्रधान टु टेबल्स-अस्ट्रेलियाका प्रबन्धक र पेशागत रुपले सेफ हुन्।) hello@twotables.com.au