MENU

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हाले, जारी गरे १५ कार्यकारी आदेश

Mr Biden was quick to get down to business on his first day, issuing 15 executive actions.
Joe Biden was quick to get down to business on his first day, issuing 15 executive actions.

वाशिङटन–अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पद सम्हालेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्ट्ससँग पद तथा गोपनीयताको सपथ लिएसँगै उनी मोटरकेडसहित ह्वाइटहाउस प्रवेश गरेका छन्।

सपथग्रहणपछि विशेष सम्बोधन गर्दै बाइडेनले आफू सबै अमेरिकीहरुको राष्ट्रपति हुने प्रतिबद्धता जनाएका छन्। उनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो,’ उनले भने।

बाइडेनले कोरोना महामारीमा ज्यान गुमाएकाहरुको श्रद्धाञ्जलीमा मौन धारणसमेत गरेका थिए। त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ लिएकी छन्।

आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिँदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका थिए।

पद सम्हालेपछि बाइडेनले १५ वटा कार्यकारी आदेश र दुई वटा निर्देशनमा हस्ताक्षर गरेका छन्। उनले कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायतालगायतका कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

के–के छन् बाइडेनले जारी गरेका कार्यकारी आदेशमा ?

बाइडेनले संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् भने एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ। त्यस्तै, कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने तथा पेरिस जलवायु सम्झौतामा पुनः समावेश हुनेसम्बन्धी कार्यकारी आदेश पनि जारी गरेका छन्।

बाइडेनले अमेरिका पुनः पेरिस सम्झौतामा संलग्न हुने सूचना राष्ट्रसंघसमक्ष पठाएका छन्। विश्वव्यापी तापमान वृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो। तर ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।

बाइडेनले ५ वटा अध्यागमनसम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। बाल्यकालमा अमेरिका आएका कागजपत्रविहीनलाई संरक्षण प्रदान गर्ने ‘डाका’ कार्यक्रमलाई सुदृढीकरण गर्ने, सातवटा मुस्लिम बाहुल्य देशका नागरिकमाथि ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धलाई उल्टाउने तथा अमेरिकाभित्र अध्यागमन कारबाही गर्ने ट्रम्पको नीतिलाई उल्टाउने गरी कार्यकारी आदेश जारी गरिएको छ। ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि जारी गरेको संकटकाललाई पनि बाइडेनले उल्टाएका छन्।

विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको कदमलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत् उल्टाएका छन्। त्यस्तै कोरोनाविरुद्धको भ्याक्सिनको उत्पादन र वितरणका सन्दर्भमा पनि बाइडेनले कार्यकारी आदेश जारी गरेका छन्।