मेलबर्न । भिक्टोरियाको मेल्टन सिटी काउन्सिलको चुनावमा नेपाली भाषी कुबिर लाल खनालले उम्मेद्धारी दिएका छन् । आगामी अक्टोबर महिनामा हुने स्थानिय काउन्सिल चुनावमा खनालले कोबर्न वार्डको काउन्सिलर पदका लागि उम्मेद्धारी दिएका हुन् ।
नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै खनालले भने, “शुक्रवार १८ सेप्टेम्बरमा भिक्टोरियन निर्वाचन आयोगमा उम्मेद्धारी दर्ता गरे र अहिले प्रचार प्रसारमा सक्रिय भएको छु ।” मेलबर्न सहरभन्दा ४१ किलोमिटर टाढा रहेको मेल्टन सिटी काउन्सिल बहुसाँस्कृतिक समुदायको बाक्लाे बसोवास रहेकोछ । खनालले स्थानिय बहुसाँस्कृतिक समुदालयलाई लक्षित गरेर प्रचार प्रसार गरिरहेका छन् ।
प्रत्येक चार चार बर्षमा हुने स्थानिय काउन्सिल चुनावमा यो पटक कोरोना भाइरसको प्रभावका कारण पोष्टल भोटिङ हुने भएको छ । काउन्सिलको निर्वाचल तालिका अनुसार अक्टोबर ६, ७ र ८ भित्र प्रत्येक नगरबसीको घरमा हुलाक मार्फत मतपत्र पुग्नेछ । अक्टोबरको २३ भित्र मतदान गरेर मतपत्र भिक्टोरियन निर्वाचन आयोजमा पुग्नुपर्नेछ । १३ नोभेम्बरमा आयोगले नतिजा सार्वजनिक गर्ने छ ।
कुबिर लाल खनालको जन्म भुटानमा भएको हो । उनी ६ वर्षको उमेरमा नेपाल आएका थिए । नेपालको भुटानी शरणार्थी शिविरमा करिब १८ वर्ष बिताएपछि उनी सन् २०१० मा अस्ट्रेलिया आएक हुन् ।
खनालले स्थानियरुपमा रियल स्टेटको ब्यवसाय संचालन गरिरहेका छन् । उनी भुटानी समुदाय मेल्टनको पूर्व अध्यक्ष हुन् । यस्तै मेल्टन इन्टरफेथ नेटवर्कका बर्तमान उपाध्यक्ष, मेल्टन सिटी काउन्सिल इन्टरकल्चरल एड्भाईजरी ग्रुपको सदस्य र लायन्स क्लब अफ मेल्टनको पनि सदस्य रहेका छन् ।