MENU

बहराइन र बेलायती नागरिकले पाए नेपालका हिमाल आरोहण गर्ने अनुमति

Photo : Gaiusmarius181

काठमडौं । कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमनमाथि समेत रोक लगाएको समयमा नेपाल सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोली र तीन बेलायती नागरिकलाई हिमाल आरोहण गर्न अनुमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफासहित १५ जना बहराइन तथा ३ जना बेलायती नागरिक चार्टर्ड फ्लाइटबाट नेपाल आउने तथा सेप्टेम्बरमा ८ हजर १ सय ६३ मिटर उचाईको मनास्लु हिमाल आरोहण गर्नेछ ।

मनास्लुको आरोहअघि उक्त टोलीले सगरमाथा क्षेत्रमा रहेको ६ हजार १ सय १९ मिटरको लोवुजे हिमाल आरोहण गर्नेछ । सन् २०२१ मा सगरमाथा आरोहण गर्ने पूर्व तयारीका राजकुमार सहितको टोलि नेपाल आउन लागेको हो ।

बहराइनका ३३ वर्षीय राजकुमार खालिफाको टोली सेप्टेम्बर १५ मा काठमाडौं आइपुग्ने तथा एक हप्ता क्वारेन्टाइनमा बस्ने र हेलिकप्टरबाट खुम्बु क्षेत्रमा जानेछन् र सोही स्थानबाट मनास्लु आधार शिविर प्रस्थान गर्ने योजना रहेको बताइएको छ ।

कोरोना भाइरस महामारीका कारण स्थागित रहेको हिमाल आरोहण गरेमा उनीहरु लकडाउनपछिको नेपालको हिमाल आरोहण गर्ने पहिलो समुह हुने छ ।

यता नेपाल सरकारले आफ्ना नागरिकहरुलाई अनुमति लिन तथा हिमाल आरोहण गर्न कुनै पनि बन्देज नलगाएपनि अहिलेसम्म कुनै पनि नेपाली समुहरुले हिमाल आरोहणका प्रयास गरेका छैनन ।