MENU

अफगानिस्तानमा रहेका नेपाली उद्धारका लागि निगमको जहाज चार्टर गर्ने तयारी

Nepal Airlines Kahmandu Hong Kong flight
अफगानिस्तानको काबुल र अन्य सहरमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमले जहाज चार्टरमा दिने तयारी गरेको छ। दुबईको एक ट्राभल कम्पनीले निगमको जहाज चार्टर गर्न माग गरेपछि निगमले परराष्ट्रसँग समन्वय गरी चार्टरमा दिने तयारी गरेको हो।

एजेन्टले अगस्ट २६ तारिखका लागि चार्टर मागेको छ। सोहीअनुसार निमगले चार्टर गर्न दिने तयारी गरेको हो। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले प्रतिघन्टा १५ हजार ७ सयका दरले वाइडबडी जहाज चार्टरमा दिन सकिने बताए। उनले भने, ‘एजेन्टहरूले जहाज मागिरहेका छन्, तर परराष्ट्रसँग आवश्यक समन्वय नभएकाले दिएका छैनौँ, परराष्ट्रले अनुमति दियो भने आजको भोलि नै जहाज चार्टरमा दिन सकिन्छ।’ उनका अनुसार वाइडबडी जहाजले दिनमा तीनपटकसम्म यात्रु ओसार्न सक्छ।

तर, परराष्ट्रले यस सम्बन्धमा निगमलाई कुनै अनुमति दिएको छैन। परराष्ट्रले यसबारेमा कूटनीतिक नियागहरूसँग र विज्ञहरूसँग छलफल गरेर मात्रै उद्धार गर्न जहाज पठाउन सकिने बताएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा जहाज पठाउनेबारे निर्णय नभएको बताइन्। ‘यस विषयमा ठोस निर्णय र कुराकानी भएको छैन,’ उनले भनिन्।

यसअघि ०७३ असारमा अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा निगमको जहाज उद्धारमा पुगेको थियो। त्यतिवेला आफ्नै खर्चमा सरकारले नै उद्धार गरेको थियो।