MENU

नेपालमा कोरोना संक्रमण तिब्र, एकैदिन ४३६४ जना संक्रमित

काठमाडौं — नेपालमा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारको नियमीत प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा देशभर थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।

हाल देशभरमा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ। ११ हजार ७१७ जना आज देशभरमा संस्थागत आइसोलेसनमा छन्।

आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

काठमाडौंमा एकैदिन २५४० जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै २५४० जना संक्रमित थपिएका छन् ।

बिहीबारको प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

थप १२ जनाको मृत्यु, मृतक संख्या ६ सय नजिक

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ८ जना पुरुष र ४ महिला गरी थप १२ जनाको मृत्यु भएको छ।

काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ५८, ९१, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुनसरीमा ३९, धनुषामा ७०, र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।