MENU

नेपालमा एमसीसीकाे ज्वराे- गठबन्धनको भविष्य छिनोफानो बिहीबार

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सँगका सम्झौताका कारण टुट्ने अवस्थामा पुगेको गठबन्धनको भविष्य बिहीवार बस्ने बैठकले निर्धारण गर्ने भएको छ ।

आजको संसद् बैठकमा एमसीसी सम्झौता पेश गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको रफ्तारमा तत्कालका लागि ब्रेक लागेको छ ।

एमसीसीको सम्बन्धमा सत्तारूढ गठबन्धनभित्रै सहमति बन्न सकेको छैन । स्पष्टरूपमा नेपाली कांग्रेस मात्रै एमसीसीको पक्षमा छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गरिरहेको छ ।

जनता समाजवादी पार्टीले अहिलेसम्म स्पष्ट धारणा बनाउन सकेको छैन । उक्त पार्टीभित्र डा। बाबुराम भट्टराई पक्षधर नेता एमसीसीको पक्षमा देखिएका छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षले एमसीसीबारे कित्ता क्लियर गरेको छैन ।

गठबन्धनभित्र सहमति नबन्दा पनि कांग्रेसले भने एमसीसी संसद्मा पेश गर्ने र पारित गराउनका लागि पहल गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवा पनि एमसीसी कुनै हालतमा अघि बढाउने पक्षमा थिए ।

प्रधानमन्त्रीले बढाएको एमसीसीको रफ्तार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनको लागि ब्रेक लगाइदिएका छन् ।

सिंहदरबारमा आजै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रचण्डले प्रधानमन्त्रीलाई आफ्नो पार्टीको संसदीय दलको बैठकले गरेको निर्णय सुनाएका थिए ।

एमसीसीमा रहेका राष्ट्रिय हित विपरीतका बुँदाहरू संशोधन हुनुपर्ने, पास गर्न गठबन्धनमा सहमति जुट्नुपर्ने, संसद्मा पेश हुन संसद्को अवरोध खुलाउनुपर्ने निर्णय माओवादी संसदीय दलको बैठकले गरेको थियो । प्रधानमन्त्री यसमा सहमत नभए आजै सरकारबाट बाहिरिने माओवादी केन्द्रको निष्कर्ष थियो ।

पार्टीको सोही निर्णय सुनाउँदै प्रचण्डले प्रधानमन्त्रीलाई आजको संसद् बैठकमा एमसीसी पेश नगर्न र भोलि गठबन्धनको बैठक बोलाएर एमसीसीबारे गठबन्धनका दलहरूको कित्ता क्लियर गराउन प्रस्ताव गरेको प्रचण्डको सचिवालयले बताएको छ ।

सोही अनुसार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विहीबार दिउँसो ३ बजे गठबन्धनको बैठक राख्न सहमत भएका छन् ।

प्रचण्ड र देउवाले आजको संसद् बैठकमा एमसीसी प्रस्तुत नगर्ने सहमति गरेपछि प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले पनि एमसीसीलाई बैठकको कार्यसूचीमा नराख्ने निर्णय गरेको थियो ।

‘भोलि गठबन्धनको बैठक बसेर सल्लाह गर्ने सहमति भएको छ । गठबन्धनले के भन्छ, त्यसलाई सुन्न दुई नेता सहमत भएका छन् । गठबन्धनले आ–आफ्नो बाटो लागौं भन्छ कि सँगै जाऔं भन्छ, त्यो भोलिको बैठकबाट निर्धारण हुन्छ’, प्रचण्डका एकजना सचिवालय सदस्यले भने ।

प्रचण्ड भने गठबन्धन पनि जोगाउने र एमसीसी पनि अघि नबढाउने रणनीतिमा छन् । त्यसमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डलाई साथ दिइरहेका छन् ।

बिहीबार बस्ने गठबन्धन बैठकले आफ्नै भविष्यको बारेमा निर्क्यौल गर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

एमसीसीमार्फत सहायता उपलब्ध गराएको अमेरिकाले भने फागुन १६ को समयसीमा तोकिदिएको छ । फागुन १६ भित्र एमसीसी स्वीकार वा अस्वीकार गर्नेबारे नेपालको निर्णय चाहिने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

नेपालको अन्तरदेशीय प्रसारण लाइन र राजमार्ग निर्माणका लागि ५५ करोड अमेरिकी डलर बराबरको सहायता अमेरिकाले दिने गरी सम्झौता भएको छ ।

अमेरिकाले सहायता उपलब्ध गराउने बहानामा नेपाललाई अमेरिकी सुरक्षा छाताभित्र राख्न खोजेको र नेपालको राष्ट्रियता तथा सार्वभौमिकतामा आँच आउने गरी सम्झौता भएको भनेर नेपालका कम्युनिस्ट पार्टीहरूले एमसीसीको विरोध गरिरहेका छन् ।

नेपालले एमसीसी स्वीकार नगरे नेपाल–अमेरिका सम्बन्ध नै पुनर्विचार हुने धम्की अमेरिकी अधिकारीहरूले दिएका छन् ।