MENU

न्यु साउथ वेल्स र भिक्टोरियामा खुकुलो बनाइयो कोभिड–१९ विरूद्धको प्रतिबन्ध

न्यु साउथ वेल्समा १८ फेब्रुअरीदेखि कोभिड–१९ रोकथामका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो हुने भएका छन् ।

अब हस्पिट्यालिटी र मनोरञ्जन स्थलहरूमा मानिसहरू उपस्थित हुने संख्या सीमित नगरिने त्यहाँको प्रशासनले बताएको छ ।

त्यसैगरी, १ हजार भन्दा बढी मानिसहरू जम्मा हुने ठाउँहरू जस्तै, नाइट क्लब, साङ्गीतिक महोत्सव, अस्पताल र अपाङ्गताको क्षेत्रमा काम गर्ने स्थानहरूमा मात्र क्युआर चेक इन लागू हुने भएको छ ।

सरकारले सबैजसो ठाउँमा गाउँने र नाच्ने कार्यलाई खुल्ला गरेको छ । तर, साङ्गीतिक महोत्सवहरूमा भने यस्तो व्यवस्था २५ फेब्रुअरीसम्म लागू गरिएको छैन् ।

घरबाट नै काम गर्नुपर्ने व्यवस्थालाई पनि हटाएर त्यस्तो निर्णय गर्ने अधिकारी रोजगारदातालाई नै दिने स्थानीय प्रशासनले बताएको छ ।

त्यसैगरी, आगामी सातादेखि मास्क लगाउने नियमहरू केही क्षेत्रहरूमा खुकुलो पार्न लागिएको छ ।

भिक्टोरियामा  १८ फेब्रुअरीको साँझ ६ बजेदेखि प्रतिबन्धहरू खुकुलो

भिक्टोरियामा पनि १८ फेब्रुअरीको साँझ ६ बजेदेखि प्रतिबन्धहरू खुकुलो पार्न लागिएको छ । अब हस्पिट्यालिटी र मनोरञ्जनका स्थलहरूमा मानिसको जमघटलाई सीमित नगर्ने प्रशासनको तयारी छ ।
भक्टोरियामा १८ फेब्रुअरीको साँझ ६ बजेदेखि पसल, सुपर मार्केट, विद्यालय र बाल स्याहार केन्द्रहरूमा क्युआर चेक इन कोडहरू आवश्यक नपर्ने बताइएको छ ।

खोप नलगाएका आगन्तुकहरूले न्यु साउथ वेल्स र भिक्टोरियामा ७ दिन क्वारेनटिनमा बस्नुपर्ने नियम पनि परिमार्जन गरिएको छ ।

भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टिन फोलीले आगामी हप्तादेखि बन्द स्थानहरू र विशेष गरी कार्यालयहरूमा मास्क लगाउनुपर्ने बाध्यकारी व्यवस्था हट्न सक्ने बताएका छन्।

अब ६ देखि ११ वर्षका बालबालिकाहरूका लागी दोस्रो खोप उपलब्ध हुने उनले बताए । यस अघि १२ वर्ष माथिका मानिसहरूका लागी मात्र प्रयोग गरिएको मोडेर्ना कोभिड–१९ खोप अब भने ६ देखि ११ वर्ष उमेर समूहका लागी प्रयोग गर्न अस्थायी स्वीकृति दिएको छ । औषधि सम्बन्धी नियामक निकाय टीजीएले यस्तो स्वीकृति प्रदान गरेको हो ।

चीनले अस्ट्रेलियाको चुनाव प्रभावित गर्न खोजेको आरोप