MENU

घरमै पार्क गर्दा कारको झ्याल खुल्ला नराख्नुहोस्; सिड्नीको एक परिवारले तिर्यो जरिवाना

Police issued a fine for leaving their car window open

सिड्नीको दक्षिण भागमा बसोबास गरिरहेको एक परिवारले घरमा कार पार्क गरेपनि कारको झ्याल खुल्लै राख्दा प्रहरीले जरिवाना तिराएको छ ।

सार्वजनिक स्थलमा कार पार्क गरी कारलाई खुल्लै छाड्दा अन्य मानिसलाई कारभित्र पस्न तथा सामान चोर्नका लागि निम्तो दिइने केही मानिसहरुको तर्क भएपनि उनीहरुको कार भने क्यारिम्बा साउथमा रहेको घरको अगाडी सिधा पार्क गरिएको थियो ।

जब प्रहरी आए वास्तवमा रिचेल अमेयका श्रीमान कार भन्दा केही मिटर दूरीमा बगैचामा काम गरिरहेका थिए । “कार मेरो श्रीमानको नजरमै थियो । हामी बाहिर पनि गएका थिएनौ र गाडीबाट ध्यान पनि हटाएका थिएनौ । कार उनको अगाडी नै थियो,” अमेयले भनिन् ।

कार परिवारको घरको अगाडी तथा कार मालिकको नजरमै भएपनि प्रहरीले कार असुरक्षित छाडेको भन्दै अमेयका श्रीमानलाई १ सय १२ डलर जरिवाना गर्यो । “के हुन्थ्यो यदि तपाईको पर्स अगाडीको सिटमा हुन्थ्यो भने?,” प्रहरीले आफ्ना श्रीमानसंग जानकारी लिने क्रममा सोधेको अमेयले बताइन् ।

न्यू साउथ वेल्सको सडक नियम २१३ को उपधारा ५ अनुसार यदी कुनै चालक आफू कार भन्दा तीन मिटर पर भए र गाडीमा कोही नभएको अवस्थामा सबै झ्यालहरु सुरक्षित हुनुपर्ने तथा ढोकाहरु बन्द हुनुपर्ने हुन्छ । नियमको अपवादको रुपमा कारको झ्यालमा दुई सेन्टिमिटरसम्मको चिरा परेपनि जरिवाना भने लाग्दैन ।

न्यू साउथ वेल्स पुलिस अन्तर्गतको ट्राफिक एण्ड हाइवे पेट्रोलका प्रमुख निरिक्षक फिलिप ब्रुक्सका अनुसार यस क्षेत्रमा जरिवाना लगाउने काम अलोकप्रिय भएपनि चोरहरुलाई रोक्न तथा गाडी चालकहरुबीच चेतना जगाउनका लागि प्रहरीको यो एउटा साधनको रुपमा रहेको छ ।

“उदाहरणको रुपमा न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा गाडी चोरीको धेरै घटनाहरु हुन्छन् । गस्तीमा रहेका प्रहरीले लक नगरिएका गाडी देखेमा चोरी हुने सम्भावनाको रुपमा कदम चाल्छन्,” उनले भने । ब्रुक्सका अनुसार कहिलेकाही गरिने यस्ता कारवाहीले मानिसलाई सचेत बनाउने तथा संचारमाध्यममा ध्यान तानिदा जनचेतना जगाउने काम हुने गरेको छ ।

स्राेत नाइन न्युज ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा रातो भाले बेच्ने नेपालीको कथा