MENU

अस्ट्रेलियामा रातो भाले बेच्ने नेपालीको कथा

Rishi Acharya
Editor at Nepalese Australian

Success Story of Rudra Poudel, who owns 8 Red Rooster Fast Food stores

नेपालको पर्वतमा जन्मेका रुद्र पौडेलले अस्ट्रेलिया आउनु अघि कहिल्यै पनि व्यापार व्यवसायमा लाग्ने सोच बनाएका थिएनन् । २१ वर्षअघि सुचना प्रविधि पढ्नका लागि अस्ट्रेलिया आएका पौडेलले पनि आम विद्यार्थीले भोग्ने समस्या भोगे ।

पहिले त काम पाउन नै गाह्रो भयो । शुरुका दिन सम्झदै उनी भन्छन् “नेपालमा अफिसमा बसेर यो ले त्यो ले भन्ने बानी थियो । तर यहाँ शुरुमा काम गर्न गएको दिन त त्यस्तो काम कसरी गर्ने भन्ने लाग्यो ।” तर बाध्यता काम नगरि माम नपाईने त्यसमाथि पनि विश्वविद्यालयको चर्को शुल्क तिर्नु त छदैथियो ।

अस्ट्रेलियामा जिवन गुजाराका लागि उनी “रेड रुष्टर” फस्टफुड कम्पनीमा काम गर्न थाले । त्यहाँ काम गर्दै जाँदा उनको रुचि सुचना प्रविधिबाट विस्तारै हस्पिटालिटितिर बढ्न थाल्यो । त्यसैले उनले सुचना प्रविधि विषयलाई थाती राखेर हस्पिटालिटि विषय अध्ययन गर्न थाले ।

काम र अध्ययनको क्षेत्र एउटै भएकाले उनको कम्पनीमा प्रमोसन हुदै गयो । उनी भन्छन् “म साधारण किचेन हेण्डबाट रेड रुष्टरमा छिरेको थिए । तर पछि म एरिया म्यानेजर अनि ट्रेनिङ म्यानेजरसम्म भए ।” कामको सम्मान गर्ने र आफ्नो क्षमतामा विश्वास गर्ने मानिसले अस्ट्रेलियामा सजिलै प्रगति गर्न सक्ने पौडेलको ठम्याई छ ।

किचेन हेण्डदेखि आठवटा रेड रुष्टर स्टोरको मालिक

पौडेल म्यानेजर रहेकै अवस्थामा उनले काम गरिरहेको रेड रुष्टर विक्री गर्ने योजना बनाउदै थिए उनका साहु । मौकामा हिरा फोड्नु भने झै रुद्र पौडेलले त्यो आफैले किन्ने विचार गरेर र अर्थ संकलनका लागि रातोदिन खट्न थाले । उनी भन्छन् “यो समयमा मैले सातै दिन दिनमा १७–१८ घण्टा काम गर्थे । त्यो समयमा मेरो लक्ष्य भनेको नै त्यो रेड रुष्टर किन्नका लागि अर्थ संकलन गर्नु थियो ।”

Success Story of Rudra Poudel, who owns 8 Red Rooster Fast Food stores

उनको भनाईमा त्यो व्यवसाय संचालनका लागि उनीले मात्र आर्थिक चुनौतिको सामना गर्नु थियो । अरु सबै व्यवस्थापन त उनले लामो समयदेखि गर्दै आएका थिए ।

एउटा स्टोर किन्नका लागि दिनरात खटिएका रुद्र पौडेलले आठवटा रेड रुस्टर स्टोर किनिसकेका छन् । जसको मुल्य प्रति स्टोर सात लाख अस्ट्रेलियन डलर देखि दुई मिलियन सम्म रहेको छ । उनले सिड्नीको पश्चिम क्षेत्रमा आफ्नो व्यापार विस्तार गरिरहेका छन् ।

रेड रुस्टर अस्ट्रेलियनहरुको स्वामित्व रहेको फास्ट फुड कम्पनी हो जसको अस्ट्रेलियाका बिभिन्न शहरहरुमा तीन सय भन्दाबढी स्टोरहरु रहेको छ । यो कम्पनी ४८ वर्ष अघि १९७२ मा पश्चिम अस्ट्रेलियाबाट शुरु भएको थियो ।

अत्मविश्वास र परिश्रम सफलताको सुत्र

“म साधारण नेपाली हुँ, आत्माविश्वास, कडा परिश्रम र परिवारको सहयोगले यो सफलता मिलेको हो” पौडेले भन्छन् । अहिले यहाँ आएका धेरै विद्यार्थीहरु सहि बाटो चिन्न नसकेर भौतारिरहेका अनुभव पौडेलले गरेका छन् ।

 अहिले विद्यार्थीको रुपमा अस्ट्रेलियामा रहेका भाईबहिनीलाई उनको एउटै अनुरोध के छ भने आफ्नो लक्ष्य निर्धारण गर्नु र त्यो लक्ष्यका लागि सानो सानो प्रयास गर्दै गर्नु । आफूमा क्षमता छ भने सफलता चुम्न गाह्रो नहुने उनको भोगाई छ ।

नेपालीले बिदेशमा बसेर आफू समृद्ध हुने सँगसँगै आफ्नो जन्मभूमी पनि समृद्ध हुनु पर्छ भन्ने मान्यता पौडेलको छ ।

 Rudra Poudel Family
दुई छोराहरु र श्रीमतीका साथ रुद्र पौडेल

पौडेल अस्ट्रेलियामा रहेको यूनाईटेड नेप्लिज क्रिश्चियन कम्यूनिटिका महासचिव हुन् । उनी यही संस्था मार्फत नेपालमा परोपकारी काम गरिरहेका छन् ।

ईन्टरनेशनल नेपाल फेलोशिस नामक संस्थासँग सहकार्य गर्दै क्रिश्चियन कम्यूनिटि तथा उनी व्यक्तिगत रुपमा पनि नेपालका दुर्गम भेगमा स्वास्थ्य, शिक्षा तथा खानेपानीका लागि काम गरिरहेका छन् ।