MENU

वेस्टर्न अस्ट्रेलिया र न्यु साउथ वेल्समा र्‍यापिड एन्टीजेन निःशूल्क वितरण

वेस्टर्न अस्ट्रेलियाले राज्यका बासिन्दाहरूलाई  र्‍यापिड एन्टीजेन परीक्षण किटहरू निःशुल्क दिने भएको छ ।

यस्तो योजना अनुसार अब प्रत्येक घरलाई पाँच वटा किट दिइने त्यहाँको सरकारले बताएको छ ।

उक्त राज्यका बासिन्दाहरूले किट लिन जान अथवा आफ्नै घरमा कसैले ल्याइदिनका लागि अनलाइनमा आवेदन दिन सक्ने बताइएको छ ।

न्यु साउथ वेल्स राज्यमा भने २८ फेब्रुअरीबाट हाइ स्कुलका विद्यार्थी तथा कर्मचारीहरूले फेस मास्क अनिवार्य रुपमा लगाउन नपर्ने भएको छ ।

त्यहाँ पनि हरेक घरलाई आठ वटा निःशुल्क र्‍यापिड एन्टीजेन परीक्षण किटहरू सरकारले दिएको छ । त्यस्ता किटहरु अभिभावकको अनुमतिमा मात्रै प्रयोग गर्न पाइने बताइएको छ ।
भिक्टोरियामा भने अब सबैखालका वैकल्पिक शल्यक्रियाहरू गर्न पाइने भएको छ ।

न्यु साउथ वेल्समा ५ हजार ८५६ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै पछिल्लो २४ घण्टे गणना अवधिमा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको छ ।

न्यु साउथ वेल्समा एक हजार १३६ जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५५ जना आइसियुमा छन् ।

भिक्टोरियामा ५ हजार ८५२ नयाँ सङ्क्रमणसँगै तीन जनाको ज्यान गएको छ । २८३ जना अस्पताल भर्नामा छन् भने ४२ जना आइसियुमा उपचार गराइरहेका छन् । त्यसमध्ये सात जना भेन्टिलेटरमा रहेको बताइएको छ ।

तास्मेनियामा ७३४ नयाँ सङ्क्रमित पुष्टि भएका छन् । त्यहाँ ११ जना अस्पताल भर्ना छन् । आइसियुमा कोरानाका विरामी नरहेको बताइएको छ ।

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ४६४ नयाँ सङ्क्रमित पुष्टि हुँदा एक जनाको ज्यान गएको बताइएको छ । ४४ जना अस्पतालमा छन् ।

उता क्वीन्सल्यान्डमा ३ हजार ३१२ नयाँ सङ्क्रमित पुष्टि भएका छन् । त्यहाँ कोरोनाका कारण एक जनाको ज्यान गएको छ । ३११ जनाको अस्पतालमा उपचार भइरहेकोमध्ये २५ जना आइसियुमा रहेको बताइएको छ ।