MENU

धार्मिक विभेदसम्बन्धी विधेयक संसदमा ल्याउने चर्चा, विधेयक आए के प्रभाव पर्छ ?

Brisbane anti-discrimination rally. Photo: Jordan Hirst

अस्ट्रेलियामा फेरि धार्मिक स्वतन्त्रता सम्बन्धी विषयले फेरि चर्चा पाउन थालेको छ । यो वर्षको अन्तिमसम्ममा महान्याधिवक्ता माइकलिया क्यासले धार्मिक विभेदसम्बन्धी विधेयक संसदमा पेश गर्ने अपेक्षा गरिएको छ ।

चर्चका अभियन्ताहरुले संघीय चुनाव अगाडि नै धार्मिक स्वतन्त्रताको रक्षा गर्ने विषयलाई कानूनमा समावेश गराउन चाहेका छन् । धार्मिक स्वतन्त्रतालाई कानूनमा समेट्दा अस्ट्रेलियन नागरिकहरुले अझ स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने उनीहरुको तर्क रहने गरेको छ ।

तर, विपक्षमा रहेकाहरुले भने त्यस्तो धार्मिक अधिकारलाई प्राथमिकता दिदा एलजीविटीआईक्यू व्यक्तिहरु, महिला, अल्पसंख्यक समुदाय, र फरक क्षमता भएका व्यक्तिहरुको विशेषाधिकारमा असर पर्न सक्ने तर्क गरेका छन् ।

जब अस्ट्रेलियनहरुले सन् २०१७ मा समलिङ्गी विवाहलाई बैधानिकता दिन मतदान गरेका थिए त्यसयता धार्मिक नेताहरु, राजनीतिज्ञ र कार्यकर्ताहरुबीच समलिङ्गी विवाह र धार्मिक विश्वासको बारेमा चिन्ता बढेको थियो ।

कतिपयले नयाँ व्यवस्थालाई लागू गर्दा चर्च, विद्यालय र कार्यस्थलमा उनीहरूले स्वतन्त्रतापूर्वक गर्ने धार्मिक अभ्यास खतरामा पर्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए ।

धार्मिक विभेदसम्बन्धी विवादहरु शुरू भएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले फिलिप रुडकको नेतृत्वमा अस्ट्रेलियामा धार्मिक स्वतन्त्रताको अवस्था बारे पुनरावलोकन गर्ने आयोग बनाइदिएका थिए ।

उक्त आयोगले सन् २०१८ को डिसेम्बरमा प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसबेला स्कट मोरिसन प्रधानमन्त्री भइसेका थिए । मोरिसन आफै धार्मिक स्वतन्त्रताको कट्टर रक्षक हुन् । उनी सबैले धार्मिक स्वतन्त्रता पाउनुपर्ने मत राख्छन् ।

उक्त प्रतिवेदनमा अस्ट्रेलियाको कानूनले धार्मिक स्वतन्त्रतालाई राम्रोसँग संरक्षण र प्रवद्र्धन गर्नुपर्ने भनिएको थियो ।

धार्मिक भेदभाव सम्बन्धी विधेयकले अस्ट्रेलियाको सार्वजनिक स्थान, विद्यालय, क्लब, कार्यस्थलमा धार्मिक विश्वास र गतिविधिको आधारमा विभेद गर्न निषेध गर्नेछ । त्यस्ता स्थानमा कुनै व्यक्तिले धर्मको आधारमा व्यवहार गर्न नपाउने व्यवस्था हुन्छ ।

सन् २०१६ मा भएको जनगणनामा अस्ट्रेलियाका ६१ प्रतिशत अर्थात एक करोड ४० लाखभन्दा बढी मानिसहरु धार्मिक र आध्यात्मिक विषयमा विश्वास राख्ने तथ्य पत्ता लागेको थियो ।

धर्ममा विश्वास राख्नेमध्ये ८६ प्रतिशत क्रिश्चियनहरु छन् भने दोस्रो स्थानमा मुश्लिमहरु छन् । त्यसपछि बौद्ध धर्म र हिन्दू धर्म मान्ने मानिसको ठूलो समुदाय अस्ट्रेलियामा छ ।