MENU

अस्ट्रेलियाले खोल्यो अन्तर्राष्ट्रिय सीमा, यात्रुले के–के नियम पालना गर्नुपर्छ ?

कोभिड–१९ महामारीका कारण करिब दुई वर्ष यता बन्द रहेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा फेब्रुअर २१ तारिखबाट खुल्ला भएको छ ।

सन् २०२० को मार्च महिनादेखि बन्द रहेको सीमा पर्यटन र व्यवसायका लागि अस्ट्रेलिया आउनेहरुका लागि खुल्ला गरिएको हो ।

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा क्रमिक रूपका खोल्ने नीति अब नयाँ चरणमा पुगेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छनु । उनले भनका छन्, ‘यो समझदार र महत्त्वपूर्ण कदम हो, र अस्ट्रेलियालाई सकेसम्म पहिलेको जस्तै सामान्य स्थितिमा पु¥याउन यो आवश्यक छ ।’

गृह मामिला मन्त्री क्यारेन एन्ड्रुजले सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यको रक्षा गर्दै, आर्थिक अवस्था सुधार्न सीमा नाका खोल्ने निर्णय गरेको बताइन ।

अस्ट्रेलिया भित्रनका लागि के–के आवश्यक छ ?

अब अस्ट्रेलिया भित्रन चाहने मानिसहरूले यात्रा छुटको आवेदन दिइरहनुपर्दैन । आफूले खोप लगाएको प्रमाण वा मेडिकल सर्टिफिकेट भने देखाउनुपर्छ ।

गृह मामिला विभागको वेबसाइटका अनुसार पूर्ण मात्रा खोप लगाएको मानिसलाई एस्ट्राजेनेका, फाइजर÷बायोएनटेक, मोडर्ना, सिनोभ्याक, कोभ्याक्सिन (भारत बायोटेक), सिनोफार्म (६० वर्ष भन्दा कम उमेरका लागि) र स्पटनीक खोपको हकमा दुई मात्रा लगाएको हुनुपर्ने भनिएको छ ।

जोनसन एन्ड जोनसनद्वारा निर्मित ज्यान्सेन खोपको हकमा भने एक मात्रा खोप लगाएको हुनु भए अस्ट्रेलिया भ्रमण गर्न अनुमति पाइन्छ ।

अन्य खोपलाई मान्यता दिने बारेमा गृहकार्य भइरहेको सरकारका अधिकारीहरुले बताएका छन् ।

खोप नलगाएका मानिसहरूले के गर्ने ?

विभागका अनुसार स्वास्थ्यका कारणले खोप लगाउन नमिल्ने मानिसहरूले पनि खोप लगाएका मानिस सरह नै यात्राको व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ ।

यसका लागि मानिसहरूले खोप छुटका लागि पाएको मेडिकल सर्टिफिकेट अङ्ग्रेजी भाषामा देखाउनुपर्छ । त्यसमा उनीहरूको पुरा नाम, चिकित्सकसँग सल्लाह लिएको मिति र खोप लगाउन नमिल्ने कारणहरू स्पष्ट लेखिएको हुनुपर्छ ।

कोभिड–१९ सङ्क्रमण भएर खोप नलगाएको भन्ने कुरालाई चाहिँ मेडिकल छुटका रूपमा नलिइने सरकारले स्पष्ट पारेको छ ।

चर्चित टेनिस खेलाडी नोभाक जोकोभिचलाई खोप नलगाएका कारण अस्ट्रेलियन सरकारले भिसा रद्द गरी फिर्ता पठाएको थियो ।

बाह्र वर्षभन्दा मुनिका बालबालिकाले खोप नलगाएको भएता पनि उनीहरूलाई पूर्ण खोप लगाएकै रुपमा मान्यता दिइने सरकारले बताएको छ ।

त्यस्तै, खोप नलगाएका वा आंशिक रूपमा खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भने पूर्ण खोप लगाएका वयस्कहरूसँग निश्चित राज्य वा प्रदेशमा जाने अनुमति दिइएको छ ।

कहाँ कहाँ लागू हुन्छ यो नियम ?

अस्ट्रेलियाको राज्य र प्रदेशहरूले आफ्नै नियमहरू लागु गर्न सक्छन् । उनीहरुले तोकेको नियम यात्रुले पुरा गर्नुपर्छ ।

फेब्रुअरी २१ पछि पनि राज्य एवम् प्रदेशहरूले क्वारेनटिन, परीक्षण आवश्यकता वा प्रवेश अस्वीकार गर्ने जस्ता नीतिहरू समावेश गर्न सक्छन् ।

अन्तर्राष्ट्रिय यात्रुका लागि वेस्टर्न अस्ट्रेलियामा दुई हप्ते क्वारेनटिनको आवश्यकता रहेको भए पनि अन्य राज्य र प्रदेशहरूमा बिना क्वारेनटिन भित्रन पाइने नियम छ ।

सन् २०२० को मार्च महिनामा प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने घोषणा गरेका थिए । त्यसबेला उनले जीवन बचाउनका लागि पहिलो प्राथमिकता कोरोनाभाइरसको फैलावटलाई रोक्नु हो भनेका थिए ।

अक्टोबर २०२१ बाट भने अस्ट्रेलियाली नागरिक र स्थायी बसोबास (पीआर) प्राप्त गरेकाहरूले आफ्ना नजिकका आफन्तका लागि अस्ट्रेलिया प्रवेशका लागि छुटका लागि आवेदन दिन सक्ने बनाइएको थियो ।

यद्यपि यो नियम राज्य र प्रदेशका क्वारेनटिन सम्बन्धी नियमको अधीनमा थियो ।

डिसेम्बर १५ पछि भने अन्तर्राष्ट्रिय विद्यार्थी, अभिभावक र ४८२, ४१७ र ८७० जस्ता दक्ष कामदार, वर्किङ्ग होलिडे भिसा र अभिभावक भिसाका लागि छुट बिना अस्ट्रेलिया भित्रन सक्ने नियम ल्याइएको थियो ।