MENU

तास्मान राजमार्ग सबैभन्दा खराब सडकको सूचीमा ; २.४ विलियन डलर खर्च गरिने

Chhatra Shankar
Editor at Nepalese Australian

होबार्ट ।  अस्ट्रेलियाको तास्मानियामा रहेको तासमन राजमार्ग सबैभन्दा खराब सडको सूचीमा परेको एक सर्वेक्षणले देखाएको छ ।

रोयाल अटोमोबाईल क्लब अफ तास्मानियाले आफ्ना पाँच हजार सदस्यमाथि गरेको सर्वेक्षण अनुसार उक्त सडक सबैभन्दा खराब रहेको देखाएको छ भने ४० प्रतिशतले तासमन राजमार्ग तत्काल स्तरनोत्ती गर्नुपर्ने बताए । ४ सय १० किलोमिटरको सो सडकले राज्यको पूर्वी तटमा होवार्ट र लनसेस्टनलाई जोड्दछ ।

सो क्लबका स्टासी पेनिकोटका अनुसार सोरेल क्षेत्र वृद्धि भइरहेसंगै सडकमा कारहरुको संख्यामा सुरुमा नक्सांकन गरिए भन्दा बढी रहेको छ । उपनगरहरुमा भिडसंगै बाटो साघुरो र घुमाउरो रहेका कारण सो क्षेत्रमा गाडी ओभरटेक गर्न समस्या रहेको उनले बताइन् ।सर्वेक्षणमा खराब तथा खतरनाक सडकको सूचीमा मिडल्याण्ड राजमार्ग र साउदर्न आउटलेट क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

राज्यको केन्द्र हुदै होवार्ट र लनसेस्टनलाई जोड्ने तथा खराब सडकमध्ये एक रहेको मिडल्याण्ड राजमार्गलाई राज्य सरकारले हाल स्तरनोत्तीको काम गरिरहेको छ । सन् २०२० को अन्त्यसंगै ९० किलोमिटर सडक पुर्ननिर्माण गरिसकिएको छ ।

पेनिकोटका अनुसार मिडल्याण्ड सडक १० वर्षे योजना अन्तर्गत पुर्ननिर्माण भइरहेको र यो तालिका भन्दा अगाडी रहेको छ जुन सफलताको कथाको रुपमा रहेको छ । पेनिकोटले राज्य सरकारले मुख्य सडकका लागि १० वर्षे योजनाहरु ल्याउनुपर्ने बताइन् ।

यता तास्मानियाका प्रिमियर पिटर गुटवेनले सडकहरुमा पर्याप्त रकम खर्च भइसकेको बताएका छन् ।

“आगामी ४ वर्षमा करिब २.४ विलियन डलर खर्च गरिनेछ । तासमन राजमार्गकै दक्षिणी क्षेत्रमा ३ सय ५० मिलियन डलर तथा उत्तरी क्षेत्रमा ७० मिलियन डलर खर्च गरिनेछ,” गुटवेनले बताए । उनले रोयाल अटोमोबाईल क्लबको चासोलाई स्वागत गर्दै क्लबले अघि सारेको प्रस्तावलाई विचार गर्ने बताए ।

पछिल्लो समय तास्मानियाको होबार्ट लगायत विभिन्न ग्रमिण शहरहरुमा नेपालीको वसोवास बढ्दै गएको छ । सार्वजनीक यातायातको साधनमा यात्रुहरुको पहुँच नहुँदा यहाँका बासिन्दाले आफ्नै यातायताको साधान चढ्दै आएका छन् । घरवाट निस्कने वित्तिकै राजमार्गको वाटो हुँदै गन्तब्य स्थानमा पुग्नु पर्ने भएकोले तास्मानियाका राजमार्गमा सवारी चलाउदा होसियारी अपनाउनुपर्छ ।  सागुरो  तथा घुमाउरो बाटोमा एक सय दशको गतिमा दौडाउनु पर्ने भएकाले दुर्घटनाको जोखिम पनि त्यतिकै छ ।

सिड्नी, मेलबर्न तथा मेनल्याण्डमा ड्राइभिङ गरेका नेपाली चालकहरुले यहाँ आउनु अघि तास्मानियाका सडकको नियम बारे सामान्य जानकारी राख्दा दुर्घटनाको जोखिम  कम हुनसक्छ ।