MENU

पर्यटन क्षेत्र उकास्न साउथ अस्ट्रेलियाले ल्यायो सय डलरको भौचर योजना

Adelaide City South Australia Photo: Rishi Acharya, Source: Nepalese Australian

एडिलेड । कोराना भाइरसका कारण प्रयः ठप्प भएको राज्यको पर्यटन उद्योगलाई उकास्न दक्षिण अस्ट्रेलिया सरकारले “स्टिमुलस प्याकेज” ल्याएको छ ।

राज्यले होटल, वाइनरी र रेस्टुरेन्टहरुमा पर्यटकको चहलपहल बढोस भनेर सय र पचास डलरको “टुरिजम भौचर” दिने घोषणा गरेको हो ।

साउथ अस्ट्रेलियन टुरिजम कमिसनले जारी गरेको बिज्ञप्ति अनुसार राज्यको सहरी क्षेत्रका होटलमा खर्च गर्न पर्यटकले एक सय डलरको भौचर पाउने छन् भने रिजनल र ग्रामिण क्षेत्रका पर्यटकले पचास डलरको भौचर पाउने छन् ।

यो सेवा अक्टोबर महिनादेखि उपलब्ध हुने बताईएको छ । प्रिमियर स्टिेभन मार्सल रहेको साउथ अस्ट्रेलिया राज्य सरकारले यो भौचर कार्यक्रमको लागि चार मिलियन डलर छुट्याएको छ ।

राज्यका पाँचतारे होटल देखि क्याराभान पार्क र रिजनल क्षेत्रका मोटेलहरुले पनि यो स्टिमुलस प्याकेजमा हस्ताक्षर गरिसकेका छन् ।

यो प्याकेजले राज्यको सात दशकलब आठ बिलियन डलरको पर्यटन क्षेत्रले केही राहत पाउने र स्थानिय रुपमा चालिस हजार रोजगारी सृजनाहुने प्रिमियर मर्सलले बिश्वास गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको यो योजनाको अस्ट्रेलियन होटल एसोसिएसनले स्वागत गरेको छ ।

यो भौचर प्राप्त गर्न साउथ अस्ट्रेलियाको बासिन्दा हुनु पर्नेछ । अक्टोबर १५ देखि डिसेम्बर ३१ सम्म यो कार्यक्रम संचालन हुनेछ । एक जनाले एक पटमा मात्र यो भौचर प्रयोग गर्न पाउने छ । शनिवारको लागि भने यो भौचर प्रयोग गर्न पाइने छैन ।