गत मंगलबार ६ अक्टाेबरमा संघीय अस्ट्रेलिया सरकारले यस आर्थिक वर्षको लागि बजेट घोषणा गर्यो।
सरकारले यस वर्ष पनि १ लाख साठी हजार विदेशी नागरिकलाई पीआर दिने घोषणा गरेको छ। सरकारले यस वर्षको लागि ‘फ्यामिली स्ट्रिम’ भिषाको कोटा बढाएको छ।
गत सालको ४७,७३२ वटा संख्यालाई बढाएर यो वर्ष ७७,३०० पुर्याइएको छ। ‘फ्यामिली स्ट्रिम’ अन्तर्गत पार्ट्नर भिषा, चाइल्ड भिषा, प्यारेन्टस भिषा, केयरर भिषा आदि पर्दछन्। विगतमा पार्टनर भिषाको प्रोसेसिङ अवधि लामो हुने गरेकोमा अब यो केही छोटो हुने अपेक्षा गर्न सकिन्छ।
नेपालीहरूले सबैभन्दा धेरै पीआर पाउने गरेको भनेको स्किल्ड स्ट्रिमबाट हो। केही वर्ष अगाडिसम्म स्किल्ड इन्डिपेन्डेन्ट (सबक्लास १८९) धेरैले पाउने गर्दथे। १८९ भिषा पाउनु क्रमश: गार्हो हुँदै गएको छ।
आगामी वर्षको लागि जम्मा ६,५०० वटा मात्र कोटा यो सबक्लासको लागि छुट्ट्याइएको छ। आगामी वर्षको लागि ११,२०० वटा रिजनल र अर्को ११,२०० वटा सबक्लास १९० भिषाको कोटा छ। सरकारले ठूला शहरमा बसेर पढ्ने वा काम गर्ने भन्दा रिजनल एरियामा पढेका र बसेकाहरूहरूलाई प्राथमिकतामा राख्ने नीति विगत केही समययता लिँदै आएको छ।
त्यस्तै, २२,००० वटा कोटा रोजगारदाताको स्पोन्सर मार्फत पाइने ‘एम्प्लोयर स्पोन्सर्ड’ स्ट्रिमको लागि छुट्ट्याइएको छ। समग्रमा भन्दा पोइन्टमा मात्र प्रतिष्पर्धा गरेर पीआर लिन अब गार्हो हुनेछ भने रोजगरदाता वा स्टेट टेरिटोरी सरकार वा रिजनल स्पोन्सरशिपबाट अझै पनि ठूलो संख्यामा विदेशी नागरिकले पीआर पाउनेछन्।
चाखलाग्दो कुरो भने ‘ग्लोबल ट्यालेन्ट’ भिषाको लागि गत वर्ष ५००० वटाको कोटा रहेकोमा यस वर्ष त्यसलाई तेब्बर पारिएको छ। यो भिषामार्फत सरकारले तोकेको क्षेत्रहरू (जस्तै: कृषि प्रविधि, ऊर्जा र माइनिङ प्रविधि, साइबर सेक्युरिटी आदि) मा उल्लेख्य र उच्चस्तरको सफलता हासिल गरेका अति दक्ष व्यक्तिहरूलाई भित्र्याउने सरकारको योजना हो।
सरकारले पार्टनर भिषामार्फत पीआर लिनको लागि अंग्रेजी भाषाको परीक्षा पास गरेको हुनुपर्ने नियम ल्याउने बताएको छ। यदि संसदबाट पारित भएमा अर्को वर्षको मध्यबाट यो नियम लागू हुने भनिएको छ।
यसले विशेष गरी आप्रवासी समुदायमा तरंग ल्याएको छ र धेरैले यसलाई ‘विभेदकारी’ नीति भनी आलोचना गरेका छन्। सरकारले भने यो नीतिले ‘सामाजिक एकता’ ल्याउने दाबी गरेको छ।
सरकारले काम चलाऊ ( फंक्सनल) तहको अंग्रेजी चाहिने बताएको छ। त्यो भनेको आइएल्ट्समा औसत स्कोर ४.५ वा अन्य टेस्टमा सो सरहको स्कोर हो। यो आफैमा धेरै गार्हो स्कोर त होइन; तर पनि कैयौँलाई त्यही स्कोर ल्याउन पनि गार्हो हुने गर्दछ। पार्ट्नर भिषा दुई चरणमा दिइन्छ। सुरुमा अस्थायी (प्रोभिजनल) भिषा दिइन्छ भने करीब दुई वर्षपछि स्थायी भिषाको लागि आवेदन दिन मिल्दछ।
प्रधानमन्त्री मोरिसनले अंग्रेजीको आवश्यकता दोस्रो चरण (स्थायी भिषाको चरण) मा मात्र चाहिने बताएका छन्। यसको मतलब अष्ट्रेलियामा करीब दुई वर्ष बसिसक्दा कम्तीमा पनि ‘काम चलाऊ’ तहको अंग्रेजीको स्तर बनाएको हुनुपर्दछ भन्ने सरकारको अपेक्षा हो।
अध्यागमन मन्त्रीले बताए अनुसार यदि कसैले अंग्रेजीमा चाहिने स्कोर ल्याउन सकेन तर अंग्रेजी सिक्नको लागि ‘चित्तबुझ्दो प्रयास’ गरेको कुरामा सरकारलाई विश्वास दिलाउन सकेमा पनि उसले पीआर पाउन सक्छ।
संसदबाट पास हुने नहुने ठेगान नभएको र भइहालेमा पनि केसअनुसार छुट दिन सकिने सरकारले नै बताएकोले यो प्रावधानबाट अहिले नै धेरै आत्तिनु पर्ने भने देखिँदैन।
विगतको तुलनामा पीआर पाउन गार्हो हुँदै गएको कुरा निर्विवाद छ। तथापि सबै ढोकाहरू बन्द भइसकेका भने छैनन्। पीआरको लागि के गर्ने भनेर अचेल सोध्नेलाई हामीले सामान्यतया: दिने सल्लाह यी हुने गर्दछन्:
अन्तमा, मैले बारम्बार भन्ने गरेको कुरा फेरि एकपटक दोहोर्याउन चाहन्छु। पीआरलाई नै सबैभन्दा ठूलो लक्ष्य मान्नुपर्ने र यो नपाउँदा संसारै गुमाएको जस्तो ठान्नुपर्ने जरुरत छैन।
विशेष गरी अष्ट्रेलियामा पढ्न आएका विद्यार्थीले यहाँ बसुञ्जेलको अवधिलाई आफ्नो पढाइको स्तर बढाउन, अंग्रेजी सुधार्न, आफ्नो व्यक्तित्व विकास गर्न र नयाँ सीप सिक्नको लागि उपयोग गर्नु उपयुक्त हुन्छ।
आफू योग्य बनियो भने तपाईंको लागि संसारभर जहाँतहीँ अवसर नै अवसर छ।
माथि दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाइका कुनै जिज्ञास भए [email protected] इमेलमा पठाउन सक्नुहुन्छ -सम्पादक