MENU

प्रवासीलाई मतदानको अधिकार माग

Voting right for overseas Nepalese

भारतको दिल्लीस्थित नेपाली समुदायले मतदानको अधिकार दिनू भनी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा जोड दिएका छन् । आगामी वैशाख ३० गते स्थानीय तह तथा एक वर्षभित्रै हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई मत हाल्ने व्यवस्था सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन् ।

दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्चद्धारा आयोजित कार्यक्रममा मञ्चका केन्द्रीय उपमहासचिव आर बी खड्काले संघीयता र गणतन्त्र प्राप्तिका लागि प्रवासी नेपालीले त्याग र योगदान गरेको भन्दै मतदान सुनिश्चित गर्न माग गरे । ‘प्रवासी नेपालीहरूको नोट सधैँ चल्ने तर भोट नचल्ने हुन सक्दैन,’ खड्काले भने, ‘मुलुकको अर्थतन्त्र धान्ने गरी रेमिट्यान्स पठाउने प्रवासी नेपालीको मताधिकार कहाँ छ भनेर खोज्न अब ढिला भइसकेको छ । यसपालि कुनै पनि हालतमा प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिइनुपर्छ ।’

सर्वोच्चले २०७४ मा विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन दिएको आदेशलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा आम आदमी पार्टी दिल्लीका युवा नेता आरिज खानले नेपाली समुदायको जायज माग सम्बोधन गर्न उनको पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।