MENU

के हो मानसिक रोग ?

What is mental Healt by Dr Anupam Pokhrel

 

दिमागका एक या बढी क्रियाकलापहरूमा जस्तै भावना (Emotion), आभाष (Perception), स्मृति (Memory), बिचार (Thought), बोली (Speech), चेतना (Consciousness) मा गडबडी भएर उत्पन्न अवस्था लगातार रहिरहेमा मानसिक रोग भन्ने बुझिन्छ । मानसिक रोगका लक्षणहरू मानसिक रोग पिच्छे फरक फरक प्रकारका हुन्छन् । यो लेखमा केही मानसिक रोगका बारेमा चर्चा गर्न खोजेको छु ।

 

साइकोसिस (पागलपन) का लक्षणहरू:

 

यी रोगीहरुले सामाजिक परिप्रेक्षमा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो । यस समूह अन्तर्गत विभिन्न कडा मानसिक रोगहरु पर्दछन । विभिन्न पागलपन रोग अनुसार लक्षणहरु र उपचार पनि फरक फरक हुन्छ ।

 

डिप्रेसन

 

बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि, उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन ।

 

जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरू मध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् ।

 

जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ ।

 

डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।

 

डिप्रेसनका प्रमुख लक्षणहरू

• उदासीपना लगभग सधैं भइरहनु
• खुशी महसुस गर्न असमर्थ हुनु
• इच्छाहरू मरेर जानु
• नकारात्मक र निराशावादी विचार आउनु
• मर्न मन लाग्नु
• ध्यान केन्द्रित गर्न गाह्रो हुनु
• विर्सने बानी भएको महसुस हुनु
• जिउ भारी हुनु, गल्नु वा दुख्नु
• टाउको भारी हुनु, गल्नु वा दुख्नु
• चिडचिडाहट हुनु
• निद्रा गडबडी हुनु
• खाना रुची कम हु¬दै जानु
• यौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।

 

 

आत्तिने रोगका लक्षणहरू:

 

• डर, त्रास, भय: अत्यधिक डर लाग्नु, औसत मानिस भन्दा बढी चिन्तित हुनु, सामान्य अप्ठ्याराहरूलाई भयंकर ठान्नु
• शारीरिक लक्षणहरू : मुटु काप्ने, श्वास फेर्न गार्हो भएको अनुभव हुने, जिउ या हात् खुट्टा काप्ने, चिटचिट पसिना आउने आदि
• शरीरमा तनाव भएको महसुस हुनु
• ईच्छा नलागेको विचार लागतार आउनु (Obsessive Compulsive Disorder को लक्षण हुन सक्छ)
• एक्कासी पहिले भोगेको पिडा या यातनाको याद् आउनु र एकदम छट्पटी हुनु (Post traumatic stress disorder)
• कुनै खास वस्तु या स्थानको कारण ले मन आत्तिनु (Phobia)

 

मानसिक रोग प्रतिको धारणा

 

मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरूमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हुन सक्दछन् । कतिपय व्यक्तिहरू मानसिक रोगहरू दैवीशक्तिको कारणले, भुत्-प्रेतको कारणले या मानिसको मनको कमजोरीको कारणले भन्ने सोचेर यस्ता समस्या रोग नै होइनन् भन्ने धारणा राख्दछन् । त्यस्तै कतिपय व्यक्तिहरू मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मान प्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने ठान्दछन् ।

 

कतिलाई त यस्ता समस्याहरूको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा / विश्वाश छैन र धामी झाँक्रीको शरणमा जाने गर्दछन् । समस्या ठीक नभएमा या बढ्दै गएमा त्यस्ता व्यक्तिलाई बाँध्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता घटनाहरू त छापाहरूमा बेलाबेलामा प्रकाशित भइ नै रहेका हुन्छन् ।

 

मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगीहरू हुन्छन् । यिनको उपचारमा पुनर्स्थपना महत्वपुर्ण पक्ष हो । जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू नहटेसम्म उपचारको लागि जनशक्ति उपलब्ध भएरै पनि मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन नआउन सक्छ ।

 

विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोग पश्चात मानव जातिलाई पिरोल्ने दोस्रो रागे डिप्रेसन (Depression) भनिएबाट पनि हामी सबैले मानसिक समस्याको बारेमा गहिरिएर सोच्ने बेला आइसकेको छ । यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।

 

पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।

 

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया

 

स्रोत: www.mentalhealthnepal.com

 

यदि तपाई या अरु कसैलाई तत्काल मनोवैज्ञानकि सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।

 

Lifeline: 131114
Kids Helpline: 1800551800
Mensline Australia: 1300 7899 978
Sucide call Back serive: 1300 659 467
Beyound Blue: 1300 22 4636
Headspace: 1800650890