MENU

आज तीज पर्व मनाइदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका अर्थात तीज पर्व आज विश्वभर रहेका हिन्दु नेपाली महिलाहरुले देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदै छन् ।

आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको भन्ने धार्मिक कथनको आधारमा कलियुगमा पनि अविवाहित महिलाहरुले राम्रो पति र विहाहिताले पतिको दिर्घायुको कामना सहित ब्रत बस्ने गर्दछन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् ।

निराहार, जलाहार र फलाहार गरी तीन किसिमले ब्रत बस्न सकिने भन्दै उनले  सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताए ।

शुक्ल द्वितीयाको दिन अर्थात हिजो बेलुका दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व पर्सी ऋषि पञ्चमीसम्म मनाउने गरिन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

वितेका दिनमा आजको दिन विभिन्न ठाउँमा रहेका शिवालयमा ठुलो भिड लाग्ने गरेको भएपनि यसपाली कोरोना भाइरसको संक्रमणका कारण मन्दिर नखुल्ने भएका छन् ।

पशुपतिनाथ लगायत मुख्य मन्दिर चैतदेखि नै बन्द छन् ।

काठमाडौंमा अस्ती बुधबार रातिदेखि निषेधाज्ञा लागू भएकाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँनु पर्ने बाध्यता छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको शुभकामना

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले, तीजको अबसरमा शुभकामना दिदै, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गरेकी छिन् ।

त्यस्तै उहाँले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको पनि उल्लेख गरेकी छिन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले तीजको अबसरमा शुभकामना व्यक्तगर्दै अविश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई सबैलाई आग्रह गरेका छन्।