MENU

नेपालमा कोरोनाका कारण चौथो व्यक्तिको मृत्यु

नेपालमा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ। बाराका ७० वर्षीय वृद्ध कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनी कोरोनाका कारण मृत्यु हुने चौथो व्यक्ति हुन्।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत गरिसकिएका वृद्धको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । बारा जिल्ला करैयामाइ गाउँपालिका ७ घर भएका चौधरी थरका ७० वर्षीय ती वृद्धको पीसीआर रिपोर्ट नआउँदै कलेजले शव परिवारको जिम्मा लगाएर पठाइ दिएपछि आफन्तले शवको अन्तिम दाहसंस्कार भने ४ गते नै गरिसकेका छन् ।

मृतक वृद्धको पीसीआर रिपोर्ट आउनुभन्दा पहिले नै शव दाहसंस्कार भइसकेका कारण यहाँको स्थानीय प्रशासन र चिकित्सक तनावमा परेका छन् । नारायणी अस्पतालको प्रयोशगालाबाट रिकन्फमरेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट पनि सोमबार पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए।

दम र निमोनियाबाट ग्रसित ७० वर्षीय वृद्धालाई मेडिकल कलेजको आइसीयुमा जेठ २ गते दिउँसो भर्ना गरिएको थियो । आइसीयुमा राख्नुअघि कोरोनाको आशंकामा उनको स्वाब पीसीआर परीक्षणका लागि मेडिकल कलेजले नै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एकजना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।