MENU

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यमा झर्यो

FILE PHOTO: New Zealand Prime Minister Jacinda Ardern REUTERS/Martin Hunter

पछिल्लो दुइहप्तासम्म कोरोना भाइरसका कुनैपनि, विरामी फेला नपरेपछि, न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको घोषणा गरिएको छ।

पछिल्लो ४८ घण्टादेखि कोरोना भाइरस (कोभिड–१९) का बिरामीको लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको छ।

न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताएको बीबीसीले जनाएको छ ।

अप्रिलको अन्तिममा न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण लगभग शून्यमा झरेको थियो । यससँगै न्युजिल्याण्डले प्रतिबन्ध हटाएको थियो ।

न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले अहिले नै तत्काल सीमानाका भने नखोलिने बताएकी छिन् । यद्यपि बाँकी सबै प्रतिबन्ध पनि खुला गरिएको छ ।

न्युजिल्याण्डमा १५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डले मुलुकमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा जारी कडा लकडाउन पाँच सातासम्म कडाइको साथमा पालना गराइएको थियो ।