MENU

भिक्टोरियाबाट न्यु साउथ वेल्स आउने यात्रु अनिवार्य होटल क्वारेन्टिमा

Nepalese Australian

सिड्नी । भिक्टोरिया राज्यबाट न्यु साउथ वेल्समा यात्रा गर्ने हरेकले शुक्रवार ७ अगस्टदेखि अनिवार्य होटल क्वारेन्टिमा बस्नु पर्ने भएको छ । भिक्टोरिया राज्यमा कोरोना भाईरसको प्रकोपका कारण विपत्तीको घोषणा भए सँगै छिमेकी राज्यहरुले सीमा बन्द गरेका हुन् ।

भिक्टोरियाबाट न्यु साउथ वेल्स आउने हरेकले आफ्नै खर्चमा १४ दिन सम्म होटल क्वारेन्टिनमा बस्नु पर्ने राज्यकी प्रमुख स्वास्थ्य अधिकारी क्यारी च्यान्टले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन । अनिवार्य होटल क्वारेन्टिमा बस्दा लाग्ने तिन हजार डलर खर्च ब्यक्ति आफैले ब्यहोर्नु पर्ने छ ।

यो नियम सडक मार्ग, जलमार्ग र हवाई यात्राबाट राज्यमा प्रवेश गर्ने सबैलाई लागु हुने बताईएको छ । भिक्टोरियाबाट आएको यात्रुबाट सिड्नीको क्यासुलाको क्रसरोड होटलबाट संक्रमण फैलिएपछि राज्यले सिमामा कडाई गरेको थियो ।

न्यु साउथ वेल्स र एसिटीबाट क्विन्सल्याण्डमा प्रवेश निषेध

यसैबिच न्यु साउथ वेल्स र एसिटीका बासिन्दालाई क्विन्सल्याण्ड राज्यमा प्रवेश गर्न रोक लगाईएको छ । प्रिमियर एनास्तासिया पालासेकले पत्रकार सम्मेलन गरेर यी दुई राज्यका बासिन्दाका लागि शनिवार ८ अगस्टबाट क्विन्सल्याण्डको सीमा बन्द गरिएको बताएकी थिइन ।

क्विन्सल्याण्ड राज्यका बासिन्दाहरु यी दुई राज्यबाट फर्कन पाउने छन् तर १४ दिन आफ्नै खर्चमा अनिवार्य होटल क्विारेन्टिनमा बस्नु पर्नेछ । राज्यमा कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न यस्तो कठोर निर्णय गर्नु परेको प्रिमियरको भनाई रहेको थियो ।