MENU

२५ हजार डलरको होमबिल्डर स्किम: ब्यबहारिक चीरफार

कोरोना भाइरसको बिश्वब्यापी प्रकोप नियन्त्रणको क्रममा अपनाइएको कडाइका कारण संसारका थुप्रै मुलुकमा झैं अस्ट्रेलियाको अर्थतन्त्रमा पनि ब्यापक असर परेको छ ।

 

२९ बर्ष यता पहिलोपटक अस्ट्रेलियन अर्थतन्त्र ‘रिसेसन’ को चरणमा प्रवेश गरेको छ । अर्थतन्त्रलाई पुन चलायमान बनाइ आर्थिक रिकभरीको लागि ल्याइने बिभिन्न सरकारी नीति र कार्यक्रममध्य एक हाउजिङ्ग कन्स्ट्रक्सनलाई प्रोत्साहन दिनु पनि रहेको अस्ट्रेलियन सरकारले बताउंदै आएको छ ।

 

यसको लागि बिभिन्न मेडियामा केहि समयदेखि चल्दै आएका अनुमानसंग केहि हदसम्म  मेल खानेगरी ४ जुन बिहिवार बिहान अस्ट्रेलियाका प्रधान-मन्त्री स्कट मोरिसनले “होमबिल्डर” स्किमको घोषणा गर्नुभएको छ। यसलाई बिभिन्न मानिसहरुले बिभिन्न कोणबाट विश्लेषण गर्नुभएको छ र अस्ट्रेलियाको मेडियाभरी पक्ष, विपक्ष वा केहि शंसय सहित यसको समारचारले ब्यापक प्राथमिकता पाइरहेको पनि छ । 

 

यसरी घोषित नयाँ कार्यक्रम मार्फत अस्ट्रेलियन फेडेरल सरकारले होमबिल्डर स्किम अन्तर्गत योग्यता पुगेका अस्ट्रेलियन नागरिकहरुलाई नयाँ घर बनाउन वा भएको घरलाई ब्यापक मर्मत गर्न सिमित समयको लागि २५ हजार डलर नगद अनुदान दिने भएको छ ।

 

यसरी दिइने अनुदानको लागि सरकारले ६८० मिलियन डलर बिनियोजन गरेको छ भने यस स्किम अन्तर्गत ७ महिनाको अवधिमा झन्डै २७,२०० परिवार लाभान्वित हुने आशा राखिएको छ। 

बिहिवार होमबिल्डर स्किम घोषण गर्दै प्रधानमन्त्री स्कट मरिसन Photo: the new daily
कसले पाउँछन त यो अनुदान ?
  • १८ बर्षभन्दा माथि उमेरका अस्ट्रेलियन नागरिकहरु जसको गत बर्षको ट्याक्स रिटर्नको आधारमा बार्षिक आम्दानी १ लाख २५ हजार डलर (सिंगल भए) वा २ लाख डलर (जोडी भए, जम्मा आम्दानी) भन्दा थोरै भएका व्यक्तिहरु यस अनुदानको लागि योग्य हुनेछन् ।
  • अस्ट्रेलियन नागरिकको लागि लक्षित यस कार्यक्रममा सहभागी हुन बुढा-बुढी दुवै जना नै नागरिक भएको हुनुपर्नेछ र गत बर्षको ट्याक्स रिटर्न गरिसकेको हुनुपर्नेछ ।
  • माथिको क्राइटेरिया पुगेका व्यक्तिहरुले ४ जुन २०२० देखि ३१ डिसेम्बर २०२० सम्ममा नयाँ घर बनाउने (साँढे सात लाख सम्मको जग्गा र घर गरेर) वा भएको प्रोपर्टीमा ब्यापक रिनोभेसन वा पुनर्निमाण (कम्तीमा डेढ लाख डलर देखि अधिकतम साढे सात लाख डलरसम्म खर्च गरेको हुनुपर्ने, र हालको प्रोपर्टीको मूल्य डेढ मिलियन डलर भन्दा थोरै रहेको हुनुपर्ने) गर्नेगरी कन्ट्रयाक्ट साइन गरेको हुनुपर्छ । यसरी बनाइने वा पुनर्निमाण गरिने प्रोपर्टीहरु आफु बस्ने प्रायोजनको लागि हुनुपर्नेछ ।
  • यसरी कन्ट्रयाक्ट साइन गरेको मितिदेखि ३ महिनाभित्र निर्माण कार्य शुरु भइसक्नुपर्ने प्राबधान छ ।

“अस्ट्रेलियन नागरिकको लागि लक्षित यस कार्यक्रममा सहभागी हुन बुढा-बुढी दुवै जना नै यहाँको नागरिक भएको हुनुपर्नेछ र गत बर्षको ट्याक्स रिटर्न गरिसकेको हुनुपर्नेछ ।यसरी कन्ट्रयाक्ट साइन गरेको मितिदेखि ३ महिनाभित्र निर्माण कार्य शुरु भइसक्नुपर्ने प्राबधान छ ।”

के यो स्किम फर्स्ट होम बायरहरुको लागि मात्रै हो ?

 

होइन । बिभिन्न राज्य सरकारहरुले आ-आफ्ना राज्यमा हाउजिङ्ग कार्यक्रम आकर्षक बनाउनको लागि फर्स्ट होम बायरहरुलाई लक्षित आ-आफ्नै स्किमहरु ल्याएका छन्, जुन अझै बिध्यमान छन् ।

 

यस्ता राज्यसरकारले दिंदै आएको सुबिधा अस्ट्रेलियन पी आर होल्डरहरुले पनि प्राप्त गर्दै आइरहेका छन् । यसपटक सिमित समयको लागि उपलब्ध हुनेगरी फेडेरल सरकारले घोषणा गरेको होमबिल्डर स्किम भने अस्ट्रेलियन नागरिकहरुको लागि राज्य सरकारले दिने वा दिंदै आएको सुबिधाभन्दा अतिरिक्त सहयोग हुनेछ ।

 

यदि तपाईं फर्स्ट होम बायर हुनुहुन्छ र अस्ट्रेलियन नागरिक पनि हुनुहुन्छ भने तपाइंले दुवै सरकारहरुको स्किमबाट लाभान्वित हुन पाउनुहुनेछ ।

 

यदि तपाईं वा आवेदकमध्ये एकजना पी आर मात्र हुनुहुन्छ भनेचाहिं फेडेरल सरकारले ल्याएको २५ हजार डलर अनुदानको होमबिल्डर स्किममा तपाईं योग्य देखिनुहुन्न, तर राज्य सरकारले दिंदै आएको सेवा सुबिधा भने यथावत पाउनु नै हुनेछ ।

 

यसका अतिरिक्त, यो होमबिल्डर स्किमले फर्स्ट होम बायरलाई मात्र छुंदैन । यदि तपाइंले पहिलो प्रोपर्टी किनिसक्नुभएको छ र त्यही प्रोपर्टीलाई ब्यापक रिनोभेसन वा पुनर्निर्माण गर्न चाहनुहुन्छ वा साढे सात लाख डलरसम्मको नयाँ प्रोपर्टी बनाएर त्यसमा बस्ने गरी सर्ने योजना बनाउनुभएको छ भने पनि फेडेरल सरकारले ल्याएको २५ हजार डलरको अनुदान पाउनुहुनेछ । तपाईंको एकमात्र उद्देश्य उक्त प्रोपर्टीमा आफु बस्ने हुनुपर्दछ ।

“जग्गा लिएर घर बनाउने प्रक्रिया आफैमा एउटा झन्झटपूर्ण कार्य भएकोले गर्दा आवेशमा आएर वा स्किम गुम्ने त्रासमा हतार गरी कुनै पनि निर्णय गरिहाल्नु हुँदैन । हाउस एण्ड ल्याण्ड प्याकेजले कसरी काम गर्छ, लोन निकाल्दाका चरणहरु के के हुन्, आफ्नो आम्दानीको अवस्थामा  के कस्तो जस्ता बिषयमा सावधानी अपनाउनुपर्छ ।”

कसरी आवेदन दिन सकिन्छ त ?

 

यो होमबिल्डर भन्ने फेडेरल सरकारले ल्याएको शर्टटर्म स्किम भएको हुँदा यसको कार्यान्वयनको लागि राज्य सरकारहरुंग साझेदारी गरिएको छ ।यसलाई तपाईंले सिधै राज्यको राजस्व कार्यालय (स्टेट रेभेन्यू अफिस) मा सम्पूर्ण प्रक्रिया र प्रमाण पुर्याएर आवेदन दिन सक्नुहुनेछ वा तपाईंले आफ्नो प्रोपर्टी सम्बन्धी कारोवारमा बैंकबाट ऋण झिक्नुभएको छ भने उक्त बैंकमार्फत पनि आवेदन दिन सकिन्छ ।

 

तपाईंले बैंकको लेन्डिंग मेनेजर वा आफ्नो मोर्टगेज ब्रोकरहरु मार्फत यसको आवेदन फारम भर्नुपर्ने हुन्छ ।

 

के के कुरामा ध्यान दिनुपर्ला ?

 

झट्ट हेर्दा यो स्किम धेरै नै आकर्षक देखिएपनि यसमा सहभागी हुनुपूर्व तपाइंले धेरै कुराहरुको बारेमा बुझ्नुपर्दछ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन नपरोस भनेर तपाइंले आफ्नो फाइनान्स, अर्थतन्त्रले आफ्नो रोजगारीमा पार्ने असर, निर्माण प्रक्रिया र बिल्डरको छनौटमा बिशेषत बढी ध्यान दिनुपर्दछ।

 

  • सबै भन्दा पहिले त तपाइंले आफ्ना मोर्टगेज ब्रोकरहरु मार्फत वा सिधै बैंकमा गएर हालको अवस्थामा आफ्नो ऋण झिक्न सक्ने क्षमता र सम्भावित असरहरुको बारेमा छलफल गरेको हुनुपर्छ ।
  • जग्गा लिएर घर बनाउने प्रक्रिया आफैमा एउटा झन्झटपूर्ण कार्य भएकोले गर्दा आवेशमा आएर वा स्किम गुम्ने त्रासमा हतार गरी कुनै पनि निर्णय गरिहाल्नु हुँदैन । हाउस एण्ड ल्याण्ड प्याकेजले कसरी काम गर्छ, लोन निकाल्दाका चरणहरु के के हुन्, आफ्नो आम्दानीको अवस्थामा  के कस्तो सावधानी अपनाउनुपर्छ भनेर आफुलाई जानकार बनाउनुपर्दछ ।
  • हतार गरी जुन पायो त्यही बिल्डर छानेर बिल्डिंगको कन्ट्रयाक्ट साइन गर्नुभयो भने स्किमबाट आउने अनुदानभन्दा धेरै दुःख पछि तपाईंले व्यहोर्नुपर्ने हुनसक्छ । तपाईंको राज्य सरकारले बिल्डरको लाइसेन्स दिएको छ भन्दैमा सबै बिल्डरको कामको गुणस्तर एकैखालको हुन्छ भन्ने छैन । बिल्डर छान्नु पूर्व पर्याप्त रिसर्च गर्नुहोस र उपभोक्ता हकहितको लागि उपलब्ध सरकारी वेब साइट (जस्तै न्यू साउथ वेल्स राज्यको हकमा फेयर ट्रेडिंग आदि) मा गएर बिल्डरका बिरुद्धमा सरकारले वा पहिलेका ग्राहकले उठाएका गुनासा, निर्णय र चेतावनीहरुको बारेमा जानकार हुनुपर्दछ ।
  • बिल्डिंग कन्ट्रयाक्ट साइन गरेको ३ महिना भित्र निर्माण कार्य शुरु गरेको हुनुपर्ने प्रावधान चुनौतीपूर्ण छ । यो अवधिमा तपाईंको निर्माण कार्यको लागि लोन पास भएर, कागजमा साइन भएर, बैंकले आफुलाई बिल्डरबाट चाहिने विभिन्न कागजातहरुबारे सन्तुष्ट भएपछी मात्र निर्माण कार्य शुरु गर्न सकिने आशयको पत्र, जसलाई “कन्स्ट्रक्सन कमेन्समेन्ट लेटर” भनिन्छ, दिने गर्दछ । यो समयसीमामा यस्ता पत्र हात पार्नसक्नु धेरै नै चुनौतीपूर्ण हुनेछ । यसको लागि तपाईंको आर्थिक अवस्था र क्रेडिट पाइने अवस्था राम्रो भएर मात्र पुग्दैन, बैंक वा ब्रोकरले मागेका कागजमा तपाईंको बिल्डरले चुस्त दुरुस्त तवरले सहयोग गर्न सक्ने तथा बैंकले माग्न सक्ने भुक्तानी तालिकामा संशोधन गर्नुपरे तुरुन्त सहयोग गरिदिनेसम्मको लचकता बिल्डरले देखाउनुपर्नेछ । अन्यथा, एउटा बिषयमा नै बैंक र बिल्डरको कुरा बाझिन गइ महिनौंसम्म त्यहीं नै तपाइंको फाइल अड्किन सक्ने डर हुन्छ ।

अन्तमा, सरकारले घोषणा गरेको २५ हजार डलरको होमबिल्डर स्किम सबैको लागि उपयुक्त नहोला र धेरैलाई त अस्ट्रेलियन नागरिक भएको हुनुपर्ने प्राबधानले गर्दा खासै आकर्षक पनि नलाग्ला तर बजारमा घर किन्छु वा बनाउँछु भनेर हिंड्नुभएका र सम्पूर्ण योग्यता पुगेका मानिसहरुलाई भने यो एक किसिमको ठुलो सहयोग हो ।

 

अस्ट्रेलियाभरी नै यसले एक किसिमको तरंग ल्याउने छ र अस्ट्रेलियन नागरिकहरुले यसमा सहभागीता जनाउनेछन् भन्ने सरकारी अपेक्ष्यालाई एकदमै जायज मान्न सकिन्छ । यस स्किममार्फत सरकारले खोजेको संख्या र अनुपातमा ट्रेडपर्सनहरुकालागि पर्याप्त रोजगारी सृजनाभइ कोरोना भाइरसको प्रकोपले ल्याएको आर्थिक क्षतिबाट तन्ग्राउन यस हाउजिङ्ग कन्स्ट्रक्सन सेक्टरले पनि केहि भूमिका खेल्ने छ भन्ने आशा गर्न सकिन्छ ।