MENU

प्रेमिकाले अस्ट्रेलिया नल्याएको रिसमा अश्लील तस्वीर सार्वजनिक गरेपछि…

बुटबल उपमहानगरपालिकाका रवि (नाम परिर्वतन)लाई अस्ट्रेलियामा रहेकी छोरीको फोन आयो । फोनमा छोरीले भनिन्, ‘बाबा म आत्महत्या गर्छु ।’

रवि छाँगाबाट खसेजस्तै भए । रविले ‘किन ? के भयो ?’ भन्न नभ्याउँदै छोरीले फोन काटिन् । त्यसपछि रविले उनीसँगै बस्ने साथीलाई फोन गरे ।

नेपालमा एक जना युवाले सामाजिक सञ्जाल फेसबूकमा नग्न तस्वीर राखेर जथाभावी लेखेपछि उनी आत्महत्याको बाटो रोज्न लागेकी ती साथीले बताइन् ।

बुटबल उपमहानरपालिका–११ देवीनगरका २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठले फेसबूकमा पुराना फोटोहरूमा नग्न तस्वीर ‘इडिट’ गरेर गालीगलौज गर्दै फोटो पोस्ट गरेका थिए ।

त्यसलगत्तै रविले साइबर ब्यूरोमा उजुरी दिए । त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए ।

प्रहरी अनुसन्धानअनुसार ती युवती अस्ट्रेलिया जानुअघि राजनसँग प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध भएको समयमा उनीहरूले खिचेका फोटोहरू राजनसँग थिए ।

अस्ट्रेलिया जानुअघि ती युवतीले आफू गएपछि राजनलाई पनि लैजाने वाचा गरेको प्रहरीलाई बताइएको छ । अस्ट्रेलिया गइसकेपछि पनि केही समय कुराकानी भएको र पछि युवतीले विदेश लैजान नसक्ने भनेपछि झोकमा फेसबूकमा तथानाम लेखेर पोस्ट गर्ने र आफन्तलाई नग्न फोटो, भिडियो पठाउने गरेको बयान राजनले प्रहरीलाई दिएका छन् ।

प्रहरीले उनलाई काठमाडौंमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । अहिले राजनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

(लोकान्तर डटकममा गगन अर्यालले लेखेकाे रिपाेर्ट)

याे पनि पढ्नुहाेस् ।

अधिकांश अस्ट्रेलियन नागरिक भन्छन् : आप्रवासीले स्थायी बसोबासको अनुमति पाउनुपर्छ