MENU

अधिकांश अस्ट्रेलियन नागरिक भन्छन् : आप्रवासीले स्थायी बसोबासको अनुमति पाउनुपर्छ

अधिकांश अस्ट्रेलियन नागरिकहरुले केही वर्ष यता अस्ट्रेलियामा काम गरिरहेका आप्रवासीहरूलाई स्थायी बसोबासको लागी सहयोग गर्नुपर्ने पक्षमा मत जाहेर गरेका छन् ।

एक हजार ९५ जना उत्तरदाताको मत लिएर मानव अधिकार कानून केन्द्रले गरेको सर्वेका क्रममा ७८ प्रतिशतले अस्थायी भिषामा अस्ट्रेलियामा काम गरिरहेका मानिसहरुलाई स्थायी बसोबासमा सहयोग गर्नुपर्ने बताएका छन् ।

आप्रवासीहरुलाई स्थायी बसोबासको अनुमति दिँदा उनीहरुले चाहेअनुसारको जीवनयापनको योजना बनाउन सक्ने सर्वेक्षणमा सहभागीहरुले बताएका छन् ।

यो सर्वेक्षणको निश्कर्ष गत वर्ष आप्रवासी श्रमिक केन्द्रले गरेको अध्ययनको निश्कर्षसँग मिलेको छ । गत वर्षको अध्ययनले अस्थायी भिषा भएकाहरूमाथि कार्यस्थलमा हुने विभेद र शोषणको स्थिति उजागर गरेको थियो ।

कार्यस्थलमा विभेद र शोषण अन्त्यको लागि उनीहरूलाई स्थायी बसोबासको अनुमति दिनुपर्ने निश्कर्ष गत वर्षको अध्ययनको थियो ।

गत डिसेम्बरमा भएको सर्वेक्षणमा ५८ प्रतिशत उत्तरदाताले अस्ट्रेलियामा विभिन्न क्षेत्रमा भएको सीपयुक्त जनशक्तिको अभाव आप्रवासी कामदारले पूरा गरिदिएको बताएका छन् । त्यसैगरी, ३३ प्रतिशत उत्तरदाताले अस्थायी बसोबास अनुमति पाएका कामदारहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको तर, अस्ट्रेलियाले भने यस्तो नचाहेको बताएका छन् ।

त्यसैगरी, विभिन्न देशबाट अस्ट्रेलियामा आएका मानिसले सांस्कृतिक विविधता भित्र्याएको ५४ प्रतिशतले बताएका छन् । २४ प्रतिशत उत्तरदाताले आप्रवासीहरुलाई स्थायी बसोबास अनुमति दिँदा अस्ट्रेलियामा बुढौली जनसंख्या कम गर्न सहयोग पुग्ने बताएका छन् ।

यदी आप्रवासीहरू अस्ट्रेलियामा बसेर काम गरिरहेका छन् भने उनीहरुलाई स्थायी बसोबासको बाटो उपलब्ध गराउनुपर्छ भन्नेमा ९९ प्रतिशतले सहमती व्यक्त गरेका छन् ।

अधिकांश अस्ट्रेलियन नागरिक भन्छन् : आप्रवासीले स्थायी बसोबासको अनुमति पाउनुपर्छ