MENU

मैले पनि मनाएँ है दशैं

Pratik Sigdel Tasmania

दशैंको टिकाको पर्सिपल्ट अर्थात, आइतबार । विहानै साथीले फोन गरेर सोध्यो, ‘तैले त यसपाली दशैं मनाइनस के हो?’
उसको स्वर अरुबेला जस्तो सामान्य थिएन, अर्ध निद्रामा भएजस्तो । ‘ह्याङ्गओभर’ ले होला सायद ।
अचम्मित हुँदै मैले प्रतिप्रश्न गरें, ‘हैन थुनिएको छैन, किन र?’
‘हैन यत्तिकै, फेसबुकमा कतै देखिन र सोधेको ।’ चाडबाड मनाएको कुरालाई सामाजिक सञ्जालको माध्यमबाट सबैलाई देखाउनै पर्ने झैं गरेर उसले भन्यो ।
‘मनाए नि, किन नमनाउनु । अझ धुमधामसँग मनाए । तर म आफ्ना व्यक्तिगत कुराहरु सामाजिक सञ्जालमा राख्दिन,’ उसलाई जवाफ दिएँ ।
‘मान्यजनसँबाट टिका र आशिर्वाद थापें, भुई छोड्न पर्छ भनेर पिङ खेलें…….’
‘तँ त एकलकाटे पो त साँच्चै ?’ मैले बोलेर नसक्दै बिचैमा उ बोल्यो । अनि एक्कासी फोनमा टुङटुङको आवाज आयो । यसो हेरें, फोन काटिइसकेको रहेछ ।

त्यसो त सामाजिक सञ्जालमा उनीहरु जत्तिको सकृय नभएका कारण मलाई एकलकाटेको संज्ञा साथीहरुले पहिल्यै नै दिइसकेका थिए ।
‘कहीं कतै घुम्न जान्न, केही फोटो राख्दैन,’ मलाई एकलकाटेको संज्ञा दिन उनीहरुले प्रयोग गरेको तर्क थियो त्यो ।
यसपटक पनि मलाई साथीहरुले दिएको उक्त नाम उसले फेरी दोहोर्यायो । खैर ।
उसले फोन काटेको हो कि नेटवर्कका कारण सम्पर्क विच्छेद भएको भगवान जानुन । तर उसको कल आएन, अनि मैले पनि कल ब्याक गरिन ।

अनि खल्तीमा भएको आफ्नो मोबाइल निकालें र उसको फेसबुक प्रोफाइल खोलें ।
उसको फेसबुक प्रोफाइलमा एक दुई दिन अगाडिदेखि तास खेलेको, रक्सी खाएको ‘लाइभ’ गरिएको रहेछ, ‘ह्याप्पी दशैं’ भन्दै ।
अनि टिकटक खोलें, यता पनि मानिसहरुमा साना साना गिलासमा रक्सी राखेर ‘टकेला सट’ हान्ने ‘कम्पिटिसन’ चलेको रहेछ ।
सामाजिक सञ्जालहरु हेर्दा यस्तो लाग्यो, चाडपर्व भनेको तास खेल्ने र रक्सी खाने पर्व हो, त्यो पनि खुलेआम ।

चडबाडको महत्व र मनाउँदा खुशी अनुभव गर्न छोडेर सामाजिक सञ्जालहरुमा रमाउनेहरुप्रति दया लाग्यो । के कसैलाई नदेखाई सरल तरिकाले चाडबाड मनाउन सम्भव छैन ? रक्सी र तास बिनाको चाडबाड सम्भव छैन?

चाडबाडको नाममा युवामाझ मौलाउँदै गएको खुलेआम विकृति र विकृतिलाई प्रोत्साहन गर्न सामाजिक सञ्जालको दुरुपयोग भएकोमा पनि दुःख लाग्यो ।
त्यति मात्र होइन, चडबाडको महत्व र मनाउँदा खुशी अनुभव गर्न छोडेर सामाजिक सञ्जालहरुमा रमाउनेहरुप्रति दया लाग्यो ।
साँच्चैको टिका लगाउनेहरु भन्दा टिका लगाएको जस्तो गरेर फोटो खिच्नेहरुको कमी छैन भन्ने मेरो सोंचलाई यसपटकको दशैं र सामाजिक सञ्जालमा राखिएका फोटाहरुले पुष्टि गरिदियो ।

माथि चर्चा गरिएको साथी त प्रतिनिधि पात्र मात्र थियो । फेसबुक हेर्दै जाँदा अन्य साथीहरुका पनि उही प्रकृतिका फोटाहरु थिए । अन्य सामाजिक सञ्जालहरुमा यस्तै यस्तै सामाग्रीले गतिलै स्थान पाएको थियो ।

सबैको पोस्टहरु सरसर्ती हेर्दा ह्याप्पी दशैं भन्ने शब्द कसैले छुटाएको पाइन । तर सरल र वास्तविक तरिकाले मनाईने दशैंसँग उनीहरुले मनाएको दशैंमा कहीं कतै मेल थिएन ।

यो त चाडबाडको नाममा असामाजिक तत्वहरुद्वारा सामाजिक सञ्जालहरुमार्फत गरिएको भद्दा अभ्यास हो । होइन र ?
के कसैलाई नदेखाई सरल तरिकाले चाडबाड मनाउन सम्भव छैन ? रक्सी र तास बिनाको चाडबाड सम्भव छैन?
कहिले पस्ला हामीमा धर्म सँस्कृति बचाउने र सामाजिक सञ्जालको सही सदुपयोग गर्ने वुद्धि ?