MENU

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरसको ‘नक्कल’ बनाए, उपचारमा सहयोग पुग्ने अपेक्षा

मेलवर्न, अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् ।

 

कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिइने र सङ्गठनले थप अध्ययनमा सघाउने वैज्ञानिकहरूको विश्वास छ ।

 

विशेषतः यस नक्कलको अध्ययनले लक्षण देखिनुभन्दा अगाडि नै मानिसमा परीक्षण गर्दा सङ्क्रमण भएको छ कि छैन भन्ने छुट्याउन मिल्ने प्रविधि विकास गर्न सक्ने अपेक्षा गरिएको छ । साथै उपचारका लागि सम्भाव्य खोप विकास गर्न पनि यसले सहयोग गर्न सक्छ ।

 

पिटर डोहेर्टी इनस्टिच्युट फर इन्फेक्सन यान्ड इम्प्युनिटीका डा. माइक क्याटनका अनुसार यस्तै कुनै नयाँ जीवाणु उत्पत्ति भयो भने नक्कल गर्ने भनेर उनीहरूले पहिलै बनाएको योजना अनुसार यो अध्ययन गरिएको हो ।

चीनमा कोरोना भाइरसको महामारी फैलिँदा १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी पीडित छन् । विश्वभरका १६ अन्य देशमा यसको सङ्क्रमण फैलिएको पुष्टि भएपछि चीन बाहिर कसैको पनि ज्यान गुमेको छैन ।