MENU

अस्ट्रेलियन सरकारको २०२०-२१ आर्थिक वर्षको बजेटको विश्लेषण

Federal Budget 2020 Analysis by Dr Krishna Hamal

गत जुलाई २३ तारिखका दिन आउनु पर्ने बजेट कोरोनाको माहामारीले गर्दा अस्ट्रेलियन सरकारले तिन महिना ढिलोगरी ६ अक्टोबरमा अस्ट्रेलियाको पार्लियामेन्टमा पेश गरेको छ ।

अस्ट्रेलियन सरकारका ट्रेजरर जोश फ्राइडेन्बर्गले जुलाई २३ तारिखका दिन बजेटको सट्टा अस्ट्रेलियाको आर्थिक तथा वित्तीय स्थिती बारे बिवरण पेश गरेका थिए । कोरोना भाइरसले चरम रूपमा  प्रभावित अर्थतन्त्रलाइ उकास्ने लक्ष्य लिएर ट्रेजरर जोश फ्राइडेन्बर्गले ६ अक्टोबर मंगलबार पेश गरेको बजेटमा निम्न लिखित कुराहरु महत्वपुर्ण छन् ।

गत आर्थिक बर्ष २०१९-२०२० मा ५ विलियन डलर बचत हुने पूर्वानुमान रहेकोमा बजेट ८६ विलियन डलरले घाटामा गएको छ । यो बजेट-घाटा आगामी आर्थिक बर्ष २०२०-२१ मा अझ बढेर २१३.७ विलियन डलर पुग्ने छ।

अस्ट्रेलियन बजेटको ईतिहासमा यो घाटा सबैभन्दा ठूलो रहेको छ र यसको मुख्य कारण कोभिड १९ माहामारीबाट हुने आर्थिक नोक्सानीलाई कम गर्नको लागि सरकार द्वारा धेरै प्रकारका आर्थिक उद्धार कार्यक्रमहरु ल्याउनु हो भन्ने बुझिएको छ ।

गत मार्च महिनाको अन्त सम्ममा अष्ट्रेलियान सरकारले २१३.६ विलियन डलर बराबरको आर्थिक उद्धार कार्यक्रमहरु ल्याएको थियो । अस्ट्रेलियाको आर्थिक तथा वित्तीय स्थितीमा सुधार हुनेहुनाले यो बजेट घाटा सुध्रिएर आर्थिक बर्ष २०२३-२४ मा ६६.९ विलियन डलरमा झर्ने छ ।

गत आर्थिक बर्ष २०१९-२०२० मा अष्ट्रेलियाको शुद्ध (नेट) ऋण ६८४ विलियन डलर रहेको थियो भने यो बढेर यस बर्षमा ७०३ विलियन डलर हुने छ जुन २०२४ मा झन्डै एक ट्रिलियन डलर हुन जाने अनुमान गरिएको छ । ऋणको यो भार हाम्रा पुस्ता दस पुस्ताले तिर्नु पर्ने हुन्छ।

अस्ट्रलियाको जिडिपी (ग्रोस डोमेस्टिक प्रोडक्सन) गत जुन चतुर्थांशमा ७ प्रतिशतले घटेको थियो भने २०२० मा यो ३.७५ प्रतिशत ले घटने अनुमान गरिएको छ । अस्ट्रेलियामा आर्थिक अबस्था सुधार हुँदै जाँदा २०२१ सालमा जिडिपी ४.२५ प्रतिशतले बढने अनुमान गरिएको छ जो हामी सबैको लागि खुसीको कुरो हो ।

बेरोजगारी दर बढेर यो बर्षको डिसेम्बर चतुर्थांशमा ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने आर्थिक सुधार हुँदै जाँदा यो दर घटेर २०२२ को जुन चतुर्थांशमा ६.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

बजेटमा उल्लेख गरिए अनुसार सरकारले १.२ विलियन डलरको आर्थिक प्याकेज ल्याएर १००,००० रोजगार सृजना गर्ने भएको छ । बजेटमा आय कर घटाउने प्रस्तावले गर्दा ब्यक्तिहरुलाई केहि हद सम्म अर्थिक लाभ मिल्ने छ । ४५,००० देखि ९०,००० डलर आय हुनेहरुले १,०८० डलर र ९०,००० डलर भन्दा बढी आय हुनेहरु ले २,५६५ डलर बराबरको लाभ प्रप्त गर्ने छ ।

Treasurer Josh Frydenberg during the budget delivery
Treasurer Josh Frydenberg during the budget delivery in the House of Representatives on October 06, 2020 in Canberra, Australia. (Photo by Sam Mooy/Getty Images)

बेरोजगार भत्ता लिनेहरू निराश

जब सिकर सुविधा लिनेहरुलाई यस बजेटले निराश बनाएको छ । जब सिकर सुविधामा अलिकति पनि वृद्धि गरिएको छैन । हाल प्रप्त भई रहेको २५० डलर बराबरको कोरोना भाईरस सपलिमेन्ट पनि आउने डिसेम्बरको अन्तमा बन्द हुने छ । जसले गर्दा काम खोज्ने ब्यक्तिहरुलाई जिविका धान्न हम्मे हम्मे पर्ने देखिन्छ ।

आप्रवासी संख्या कटौती

धेरै बर्षको अन्तराल पछि अस्ट्रेलियामा आप्रवासी जनसंख्या घट्ने भएकाे छ ।  आप्रवासी बनेर अस्ट्रेलियामा स्थायी बसोबास गर्न चाहनेहरुको लागि यस बजेटमा कुनै राम्रो सुविधा राखिएको छैन ।

आर्थिक बर्ष २०१९-२०२० मा १५४,००० आप्रवासीहरु स्थायी बसोबासका लागि अस्ट्रेलिया आएका थिए भने यो नम्बर घटेर आर्थिक बर्ष २०२०-२१ मा ७२,००० मा मात्र सिमित रहने छ । सरसरती हेर्दा यस बजेटमा बहुसांस्कृतिक समुदायलाई कुनै खास सुविधा उपलब्ध गराइएको देखिन्न। सरकारसँग स्रोतको कमीले गर्दा यस्तो भएको हुन सक्छ ।

अस्ट्रेलियामा समय मै माहामारीलाई नियन्त्रन गर्नु, माहामारीबाट मर्नेको संख्या निम्न रहनु, अर्थिक उद्धारका कार्यक्रमहरु समयमै ल्याउनु यी आदि कारणाहरुले गर्दा अरु उन्नत मुलुकहरुको दाजोमा अस्ट्रेलियाको अर्थिक स्थिती केहि हद सम्म राम्रो स्थितिमा रहेको छ।

सन् २०२१ साल मै आर्थिक उन्नती ४.२५ प्रतिशतले बढ्ने भनिएको छ । तर यो आर्थिक उन्नतीको दर प्रप्त गर्ने कुरा धेरै चिजमा निर्भर गर्दछ जस्तैः

१.कोभिड-१९ महामारी कति सम्म लम्बिन्छ ।

२. कोभिड-१९ भ्याक्सिन कहिले सम्म उप्लव्ध हुन्छ ।

३. अरु देशहरु कसरी र कहिले सम्म कोभिड-१९ महामारीबाट मुक्त हुन्छन ।

४. पर्यटकहरुको आवत जावत कहिले सुरु हुन्छ ।

५. अरु देशहरुको आर्थिक उन्नती कहिले सम्ममा सप्रिने छ ।

६. अस्ट्रलिया र चीनको सम्बन्ध कहिले र कति सम्म सुमधुर हुनेछ ।

यी कुराहरुको जवाफ कसै सँग छैन । यसैले अस्ट्रेलिया लगायत संसार कै अर्थिक स्थिति के हुनेछ भनेर यकिन साथ भन्न सकिन्न ।

डा कृष्ण हमाल अर्थविद्ध हुन् ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियन सरकारको २०२०-२१ आर्थिक वर्षको बजेटको विश्लेषण