MENU

आज बिजया दशमी; यस्तो छ अस्ट्रेलियाका बिभिन्न शहरहरुमा टिकाको शुभ साईत

In Sydney 9:43 am auspicious hour for Dashain Tika 2020

सिड्नी । हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमी आज सोमबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताको टिका मान्यजनको हातबाट उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।

अस्ट्रेलियाका बिभिन्न शहरहरुमा टिकाको शुभ साईत

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बिजया दशमीको सोमबार देवी बिसर्जनको साइत र टिका प्रसाद ग्रहणको साईत सार्वजनिक गरेको छ ।

नेपाली हिन्दु समाज अस्ट्रेलिया सँगको सहकार्यमा यहाँका बिभिन्न सहरहरुमा बिजया दशमीको टीका प्रसाद ग्रहण गर्न उत्तम साईत सार्वजनिक गरिएकाे छ ।

अस्ट्रेलियाका बिभिन्न शहरहरुमा टिकाको शुभ साईत निम्न अनुसार रहेकाे छ,  सिड्नी बिहान ९ः४३ बजे, मेलबर्न ९ः५३ बजे, ब्रिसबेन ९ः५१ बजे, एडिलेड १०ः५७ बजे, क्यानबेरा ९ः२७ बजे, तास्मानिया ९ः२१ बजे, पर्थ १०ः३५ बजे र डार्विन ९ः११ बजे रहेको छ ।

टिकाको शुभ समय शुरु भैसकेपछि माता दुर्गा भवानीको प्रसाद दिनभरी नै मान्यजनहरुको हातबाट लगाउन शुभ रहने र साईत हेरिरहनु नपार्ने मान्याता रहेको छ । यो बर्ष मान्यजनबाट टिका पश्चिम फर्केर ग्रहण गर्नु शुभ रहने नेपाली हिन्दु समाज अस्ट्रेलियाका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

दशैंको पौराणीक महत्व

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो ।

दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख)। आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।

यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।

दशैंमा मन्यजनले दिने आर्शीवादको अर्थ

टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन ।

अनेक देवी देवतालाई पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ ।

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थः

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।

सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

यसको अर्थः

ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकौं । सत्य बोल्न, सत्कर्म गर्न, आदर सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाउन् ।