MENU

अन्तर्राष्ट्रिय विद्यार्थीका विभिन्न प्रावधानमा परिमार्जन, काम गर्न पाउने समय थपियो

अस्ट्रेलिया सरकारले पढ्नका लागि अस्ट्रेलिया आएका विद्यार्थीहरुलाई काम गर्ने समय थप गरिदिएको छ ।

विद्यार्थीहरुले पाक्षिक रूपमा अधिकतम काम गर्न पाउने अवधि अस्थायी रूपमा निलम्बन गरेर काम गर्ने समय अवधि सरकारले बढाइदिएके हो ।

यो व्यवस्था आगामी अप्रिल २०२२ मा मात्रै पुनरावलोकन गरिने सरकारी निकायहरुले बताएका छन् ।

यससँगै १९ जनवरी २०२२ देखि १९ मार्च २०२२ सम्म अस्ट्रेलिया आउने विद्यार्थीले भिसाबापतको शुल्क पनि फिर्ता पाउने भएकाछन् ।

त्यसबाहेक, कक्षा सुरु हुनु अगावै अस्ट्रेलिया आइपुगेका विद्यार्थीले काम सुरु गर्न पाउने भएकाछन् ।

त्यसैगरी, अनलाइन माध्यमबाट गरिएको पढाइलाई पनि पढाइपछिको काम गर्ने अधिकार सहितको भिसाका लागि योग्य मानिने व्यवस्था सरकारले गरेको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको मानसिक स्वास्थ्य र आर्थिक पक्षमा ठुलो असर परेकोले त्यसलाई सम्बोधन गर्न सरकारले विद्यार्थीहरुका लागि केही नियम निलम्बन गरेको बताएको छ ।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय सीमा प्रतिबन्धहरू लागू भएपछि विद्यार्थीहरु र अन्य अस्थायी भिसावाहक स्वदेश पर्किएपछि पुनः अस्ट्रेलिया आउन सकेका थिएनन् । स्वदेशमा भएकै बेलामा धेरैको भिसाको म्यास समेत सकिएको थियो ।

सङ्घीय सरकारको पछिल्लो घोषणा अनुसार अब विद्यार्थीहरुले ३१ डिसेम्बर २०२२ सम्म शुल्क मिनाहा लागि आवेदन दिन सक्ने भएका छन्

महामारी अघि स्नातक भिसा सब क्लास ४८५ का लागि क्याम्पसमै आएर अध्ययन गरेको हुनुपर्ने नियम थियो तर अब भने अस्ट्रेलिया बाहिर गरिएको अध्ययन (होम लर्निङ)लाई पनि मान्यता दिने निर्णय सरकारले गरेको छ ।