MENU

नम्रता श्रेष्ठले जितिन् मिस नेपाल-२०२०

काठमाडौ- मिस नेपाल-२०२० को  उपाधि नम्रता श्रेष्ठले हात पारेकी छन् ।  हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले मिस नेपाल-२०२० को  ताज पहिरिएकी हुन् ।

आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ  भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत  पाएकी छन् । श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी  हुने छिन । प्रतियोगितामा मिस नेपाल अर्थमा काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएका छन् ।  उनीहरू तीनै जनाले नगद  दुई लाख ५० हजार पाएका छन् ।

यसैबीच प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा  हुन भने  मिस नेपाल-२०२० प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए ।