MENU

प्रधानमन्त्री ओली पदमुक्त;  संसद्को विश्वास– पक्षमा ९३ र विपक्षमा १२४ मत

Prime Minister of Nepal K P Sharma Oli
Prime Minister KP Oli has failed to secure the confidence of parliament during a vote held at the House of Representatives (HoR) on Monday afternoon.

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्। आज सोमबार भएको मतदानमा उनको पक्षमा ९३ मत र विपक्षमा १२४ मत परेको छ। १५ जना सांसद भने तटस्थ बसेका छन्।

बैठकमा २३२ जना सांसद उपस्थित थिए भने २८ जना सांसद अनुपस्थित थिए। प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए । धारा १०० को १ मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्ने’, उल्लेख छ ।

सोही धाराको उपधारा ३ मा विश्वासको मत लिने प्रस्ताव ‘प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ उल्लेख छ । संविधानको सोही प्रावधान अनुसार प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।