MENU

एनआरएनए तास्मानियाको संयोजकमा राकेश शाक्य सहित पुरै प्यानल विजयी

Chhatra Shankar
Editor at Nepalese Australian

होबार्ट । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया,  तास्मानियाको राज्य संयोजकमा राकेश शाक्य सहित पुरै प्यानल विजयी भएको छ ।  शनिवार सम्पन्न भएको मतदानको परिणाम अनुसार राकेश शाक्य ६ सय २१ मत प्राप्त गरी राज्य संयोजकमा विजयी  भएका हुन् । उनका प्रतिस्पर्धी सन्देश परियारले ५ सय ३६ मत प्राप्त गरेका थिए । राज्य सह-संयोजकमा जग्दिश खड्का ६ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।  उनका प्रतिस्पर्धी टेक नाथ सापकोटाले ४ सय ७७ मत प्राप्त गरेका थिए ।

विजयी पछि नेप्लिज अस्ट्रेलियन संग कुरा गर्दै शाक्यले भने ‘हामी  तास्मानियामा सवैसंग हातेमालो गर्दै  दुई बर्षै कार्यकालमा केही नयाँ काम  गरेर देखाउछौ ।’   राज्य संयोजकमा  पराजीत भएपछि  सन्देश परियारले एनआरएनए तास्मानियाको निर्वािचत नयाँ टिमलाई सफल  कार्यकालको सुभकामना तथा बधाई दिएका छन्  ।

एनआरएनए तास्मानियाको सचिव पदमा लोकेन विष्ट ६ सय ७६ मत ल्याई  विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रदीप पोख्रेलले ४ सय ७० मत प्राप्त गरेका थिए । त्यसै गरी चन्द्र कृष्ण हाँईजु ६ सय ६९ मत प्राप्त सह-सचिव पदमा  विजय भएका छन् । उनका प्रतिस्पर्धी मुगेन्द्र गौतमले ४ सय ७० मत ल्याएका थिए । कोषाध्यक्षमा साँझ एनआरएनए समूहका गणेश घिमिरे ६ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी उमेश सुन्चेउरीले ४ सय ६३ मत प्राप्त गरेका थिए । यसैबिच विजयी सदस्यहरूमा साँझ एनआरएनए समूहका बन्द्री अवाल, मनोज श्रेष्ठ,   सरोज तामाङ  र सुलभ मास्के रहेका छन् ।

एनआरएनए तास्मानियाको युवा संयोजकमा सुरज अधिकारी ६ सय ८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी  रिवज रावत क्षेत्रीले ४ सय ३८ मत प्राप्त गरेका थिए । सह-संयोजकमा अनिल ढकाल ६ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रमोद भण्डारीले ४ सय ४५ मत ल्याएका थिए । सदस्यहरूमा भने अच्युत हुमागाईँ,  सन्दीप न्यौपाने र  सूर्य सुवेदी विजयी भएका छन् ।

राज्यको नारी निकुञ्जको संयोजकमा  प्रनीता राई पन्त ६ सय २६ मत प्राप्त गरी विजयी भएकी छन् ।  उनकी प्रतिस्पर्धी यांकी शेर्पाले ५ सय २३ मत प्राप्त गरेकी थिइन । यसैबिच नारी निकुञ्जको सदस्यहरूमा गुन्जन थापा, मनिता गौचन,  रुपा गुरुङ,  सविता ढकाल विजयी  भएका छन् । यसै गरी एनसीसी सदस्यहरूमा विनय शर्मा र रमेश कुमार श्रेष्ठ विजयी भएका हुन् ।

एनआरएनए अस्ट्रेलियाको निर्वाचन समितिले आइतबार मध्य राती चुनावी परिणाम सार्वजनिक गरेको हो ।

विजयी उम्मेदवारको नामावली यो लिङ्कमा गएर हेर्न सक्नुहुन्छ ।