MENU

कोभिडपछि अस्ट्रेलिया अध्ययनको आकर्षण के होला ? ६९ प्रतिशत नेपाली विद्यार्थीहरु के भन्छन् ?

सिड्नी । अस्ट्रेलियामा कोभिड १९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनमा ठूलो गिरावट आएपछि यहाँको उच्च शिक्षामा थप चिन्ता बढेको छ ।

गत महिना माइग्रेन्ट वकर्स जस्टिस इनिसियटिभले ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमा गरेको एक अध्ययनका अनुसार महमारीपछि करिब ५९ प्रतिशत विद्यार्थीले अस्ट्रेलिया  अध्ययनका लागि अरुलाई सिफारिस नगर्ने देखाएको छ । अझ चिन्ताजनक कुरा के भने अस्ट्रेलियाको लागि अन्र्तराष्ट्रिय विद्यार्थीको ठूलो बजार रहेको चीनको ७६ प्रतिशत तथा नेपालको ६९ प्रतिशतले अध्ययनका लागि अस्ट्रेलियालाई सिफारिस नगर्ने देखाएको छ ।

गत वर्ष अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको ३७ दशमलब ६ विलियन डलरको योगदान थियो जुन सिमा बन्द भएका कारण जोखिममा परेको छ । मिसेल इन्स्टिच्यूटले गरेको आंकलन अनुसार सन् २०२१ को अन्त्यसम्म सिमा बन्द भए विद्यार्थीबाट हुने आम्दानीमा १९ विलियन डलरको घाटा हुनेछ ।

विद्यार्थीको शुल्कमा गिरावट आउदा करिब १२ हजार ५ सय मानिसले शिक्षा क्षेत्रबाट रोजगारी गुमाएको नेशनल टेरटियरी एजुकेशन युनियनको तथ्यांकले देखाएको छ । यता शोषण, जातिय विभेद र सरकारको समर्थनको अभावका कारण पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अस्ट्रेलियाप्रति निराश देखिएको अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासीहरुले संघीय सरकारको सहयोग नपाएको बताइएको छ । यतिसम्म कि ७० प्रतिशतले आफूहरुले काम वा काम गर्ने समयमा गिरावट आएको बताएपनि जबकिपर र जवसिकरले सहयोग नगरेको जनाइएको छ ।  अध्ययनमा सहभागी ३५ प्रतिशतले आफूहरुसंग अक्टोवर भित्रै रकम नहुने तथा एक तिहाईले आकस्मिक सहयोगको खाचो हुने बताएका थिए ।

गृह विभागको तथ्यांक अनुसार जनवरी देखि जुलाई सम्म केवल ७२ हजार ३ सय ९७ अन्तर्राष्ट्रिय विद्यार्थीले भिसाका लागि आवेदन दिएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कमि आएको हो । कोभिड संक्रमणका कारण अस्ट्रेलियाले अप्रिल देखि राष्ट्रव्यापी रुपमा विभिन्न खाले बन्दको घोषणा गरेपछि विद्यार्थी भिसा आवेदनमा कमि सुरु भएको थियो ।

भिसा आवेदन उच्च हुने जुन महिनामा विदेशमा रहेका केवल ४ हजार ६२ जनाले आवेदन दिएका थिए ।  सो अवधिमा अघिल्ला वर्षहरुमा ३० हजार सम्म आवदेन आउने गरेका थिए ।