मैले त्यो खबर सुनेँ ।
मलाई त्यो खबरले दु:खी बनाउनु भन्दापनि अर्कै कुराले मनमा आँधी ल्यायो ।
मेरो मनमस्तिष्क भरि त्यो गीत गुन्जियो ।
कर्णदासको गीत ‘परदेशबाट छोरो फर्केन ।’
शब्द शब्दले उसैको गीत गाएको जस्तो लाग्यो ।
‘काललाई रोकी रोकी, सबैसंग बाजी ठोकी, पर्खी बसेकी बुढी आमा’
कुनै गीतले कसैको वास्तविक जीवनमा यत्तिको मेल खाएको थाहा थिएन मलाई ।
“बाबाको त अनुहार समेत याद छैन ।” बाबाको पुण्यतिथिको दिन उसले भनेको मलाई याद छ । दुईजना दिदी र ऊ गरेर चारजनाको परिवार हुर्कियो, बढ्यो, दु:खका दिन हराउँदै गए, उसले पनि काम गर्न शुरु गरेपछि सबै कुरा राम्रै लाग्दै गयो । खुशी परिवार थियो । “बाबाको कमी त कहिल्यै महसुस गराउनु भएन आमाले । तर, बाबाबिना हुर्केका छोराछोरी अलि रुन्चो हुँदो रै छन् । मेरो दिदीहरु पनि मजस्तै छिट्टै आंशु झराल्छन् ।”
दिदीहरुलाई रुन्चे भन्दा ऊ आफुले आफु पनि छिट्टै रुने कुरा भनेको याद गर्यो कि गरेन कुन्नी, मैले गरेँ ।
ऊ मेरो नजिकको साथी बनेको छ । सबै कुरा मलाई भन्छ । खुशीको केहि कुरा भयो भने सुनाइहाल्छ । फोन गर्दा मैले उठाइन भने एस एम एस आउँछ ।
“के भयो ? किन अनुहार बिगारेर बसेको ?” भनेर सोध्न पर्छ उसलाई केहि समस्या परेको रैछ भने । धेरै समय यस्तो बेला उसको जवाफ हुन्थ्यो “आमालाई सन्चो छैन ।”
एक एक गर्दै चारजनाको परिवार सानो, अझ सानो हुँदै गयो । दिदीहरुको बिहे भयो, ऊ बिदेशतिर लाग्यो । पछि त दुइटै दिदीहरु पनि विदेश लागे, आफ्नो नयाँ परिवारसंगै ।
आमा मात्रै रहनुभयो । त्यो घर कति शुन्य भयो होला आमाको लागि ।
आमाहरु आफ्नो सन्तानहरुको लागि कति दु:ख गर्छन् । एक्लै सँधै ती छोराछोरीको आवाज, झगडा, हाँसो, खेल, रुवाइको आवाजले कुनै दिन भरिलो घर शुन्य हुँदा पनि आमाले आफुलाई खुशी नै छ, सुख नै छ भन्ने देखाइरहनु भयो ।
“ए, मलाई केको पिर । तिमीहरुले पैसा कमाएर पुराएकै छौ । बरु तिमीहरुलाई पो कस्तो छ ? ठाउँ कस्तो छ ? हावा पानी कस्तो छ ? आफ्नो ख्याल गर्नु ।”
“आमा, यहाँ त साह्रै राम्रो छ । मेरो पिर नगर्नुस् स्वर्गजस्तै छ यो ठाउँ ।”
“दिदीहरुले पनि क्यानडाबाट त्यस्तै भन्छन् । स्वर्गजस्तै छ रे उनीहरुको ठाउँ पनि । लौ, तिमीहरुको राम्रो होस्, मलाई त त्यती भए त भै’गो नि । मलाई त के छ र ? डाँडामाथिको घाम भैसकेँ ।“
“त्यो डाँडामाथिको घाम नभन्नु भनेको होईन मैले ? जहिले पनि !” ऊ आमासँग रिसायो ।
उसले आमालाई अस्ट्रेलिया ल्याएर घुमाउने सोँच्दै थियो । दिदीहरुले पनि आमालाई उनीहरुको स्वर्गजस्तो ठाउँमा लैजाने भनिरहेका थिए ।
म अवाक भएको थिएँ । ऊ एउटा कुनामा बसिरहेको थियो । कपाल फालिसकेको रैछ । म बोल्न सकिन । देख्ने बित्तिकै हामी भित्र भित्रै स्तब्ध भयौँ । मैले आँखा जुधाउन सकिन ऊ संग । आमाको फोटो नजिकै थियो ।चम्किलो अनुहारकी आमाले तस्विरबाट हामीलाई हेरिरहेको जस्तो देखिन्थ्यो । मैले त्यो तस्विरसँग पनि आँखा जुधाउन सकिनँ । हेरेँ, अनि आँखा अन्तै मोडिहाले ।
“के गर्ने त अब ? नेपाल जाने हो ?” मैले सोधेँ । “अब केका लागि जानु ? कसको लागि भनेर जानु ? आमा जिउँदै हुँदा देख्न, सेवा गर्न पाइन । अब गएर के गर्नु ?” ऊ भक्कानियो ।
मलाई पटक पटक मानिसले बनाएको फोटो, भिडियो र आवाज रेकर्ड गर्न सक्ने प्रविधिले निकै घोत्लाउँछ । कस्तो चीज बनाएका है जस्तो लाग्छ ।
“टुहुरो भनेको के हुँदो रै’छ, बल्ल थाहा पाएँ ” उसले मुख खोल्यो ।
मलाई के भनूँ के भनूँ भयो । यस्तो बेलामा मलाई राम्रोसँग बोल्न आउँदैन ।
मलाई उसले मलाई देख्ने बित्तिकै झम्टिएर रुन आउला भन्ने लागेको थियो । तर ऊ कठोर भैसकेको थियो । उसले शायद सत्य स्विकारिसकेको थियो । तर आँशु रोक्न सकेको थिएन । ऊ बगिरहेको आँशु हातले पुछ्दै बोल्न थाल्यो ।
“सँधै केही न केही भैरह्यो । अर्को वर्ष जाउँला जाउँला भन्दा भन्दै …..” उसले वाक्य पुरा गरेन ।
एकैक्षण शन्नटा छायो ।
“बाबा मरेर टुहुरो भएको थिइन, अब त को रह्यो र मेरो ? आमा नै नभएपछि त के रह्यो र संसारमा ।”
“त्यो त संसारको रीत नै हो । बाँकी जिन्दगी त छ नि । त्यस्तो भन्नु हुन्न । हामी छौँ नि ।” मैले नजानी नजानी बोलेँ ।
“अन्तिम पटक मुख हेर्ने भनेको के रै छ भन्ने पनि बल्ल बुझेँ ।”
“के गर्ने त अब ? नेपाल जाने हो ?” मैले सोधेँ । “अब केका लागि जानु ? कसको लागि भनेर जानु ? आमा जिउँदै हुँदा देख्न, सेवा गर्न पाइन । अब गएर के गर्नु ?” ऊ भक्कानियो । “आमालाई यहाँ ल्याउँला, संसार देखाउँला भन्ने कत्रो सपना थियो, सबै सपना नै रह्यो ।” हिम्मत गरेर उसको आमाको फोटोमा हेरेर भनेँ, “आमा स्वर्गजस्तो ठाउँ होईन, स्वर्ग नै जानु भयो ।” ऊ सुँक्क सुँक्क गर्न थाल्यो फेरि ।
उसका दिदीहरुलाई पनि यस्तै भयो होला । हामी मृत्यु त मान्न तयार हुँदैनौँ । आफु अनि आफ्नो परिवारलाई त केहि हुँदैन भन्ने लाग्छ । नत्र बुढी भैसकेकी बिरामी आमासँग धेरै समय छैन भन्ने लागेको भए त सपना सपनै रहँदैनथ्यो होला नि । परदेशको यो एकजनाको भोगाइ मात्र हो । यस्ता कति छोराछोरी होलान् जसको पर्खाइ आमा बाबालाई होला ।
‘आउँछु आउँछु भन्थ्यो, चारै धाम घुमाउँछु भन्थ्यो । आशै आशमा बसेकी बुढी आमा’
त्यही गीतको हरेक शब्दले मलाई घोँचिरहेको थियो ।
‘प्रतिक्षाको मिति पुग्यो, कालले टपक्कै …….’