MENU

भारतले नेपाली भूभाग हुदै मानसरोबर जाने सडक बनाएकोमा नेपालको आपत्ति


नेपाल सरकारले, भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा आपत्ति जनाएको छ ।

शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको बताएका छन् ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित महाकाली नदीको पूर्वक्षेत्र नेपाली भूभाग रहेको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सन् १८१६ को सुघौली सन्धी अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत सबै भूभाग नेपालको रहेको स्पष्ट पार्दै विज्ञप्तिमा यो कुरा नेपाल सरकारले विगतमा र अहिले पनि कयौंचोटि दोहोर्याउँदै आएको उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार दुई देशबीचको घनिष्ट एवं मित्रवत् सम्बन्धको माध्यमबाट ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाका आधारमा सीमासम्बन्धी मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिवद्ध छ ।’