MENU

पर्यटकको लागि अस्ट्रेलिया खुल्ला, कहिलेबाट को–को आउन पाउँछन् ?

The international border has been closed to most people overseas since March 2020.(ABC News: Maren Preuss)

विदेशी पर्यटकको लागि अस्ट्रेलियाको सीमा नाका खुल्ला हुँदैछ । अस्ट्रेलियन सरकारले पूर्णरूपमा कोभिड–१९ विरूद्धको खोप लगाएका पर्यटक अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गरेको छ । केही दिन अघि प्रधानमन्त्री स्कट मोरिसनले पूर्णरूपमा खोप लगाएका पर्यटकका लागी फेब्रुअरी २१ बाट अन्तर्राष्ट्रिय सीमा खुल्ला हुने बताएका थिए ।

अस्ट्रेलियाले करीब दुई वर्ष पछि विदेशी पर्यटकका लागि सीमाना खुल्ला गर्न लागेको हो । २०२० मार्च २० यता अस्ट्रेलियामा विदेशी पर्यटक प्रवेशको लागि प्रतिबन्ध लगाइएको थियो ।
गत डिसेम्बर महिनाको अन्तिमबाट अन्तर्राष्ट्रिय विद्यार्थी, वर्किङ भिषा भएका तर विदामा गएका व्यक्ति र दक्ष आप्रवासी कामदारहरुका लागि प्रवेश खुल्ला गरिएको थियो ।

कस्ता पर्यटक आउन पाउँछन् ?

विदेशी पर्यटकहरुले अस्ट्रेलिया आउनका लागि दुई डोज खोप लगाएको प्रमाण पेश गर्नुपर्छ । पूर्ण मात्रामा खोप लगाएका जोसुकै व्यक्ति अस्ट्रेलिया आउन सक्छन् । तर, राज्यअनुसार पर्यटकले पालना गर्नुपर्ने नियम भने फरक छन् ।

पश्चिम अस्ट्रेलिया राज्यमा भने फेब्रुअरी ९ बाट एक सातामा ५३० जना मात्रै विदेशबाट आउन पाउने व्यवस्था लागू गरेको छ ।

त्यसरी आउने व्यक्तिले जीटूजी पास भएको घोषणा गर्नुपर्दछ र आवश्यकता अनुसार क्वारेन्टाइनमा रहने र कोभिड–१९ संक्रमण परीक्षण पनि गर्नुपर्छ ।

अस्ट्रेलियामा आउने सबैले पूर्णरूपमा कोरोनाविरूद्धको खोप लगाएको हुनुपर्छ ।

संघीय सरकारले दुई डोज खोप लगाएका व्यक्तिलाई पूर्ण खोप लगाएको मान्ने निर्णय गरेको छ । बुस्टर डोजलाई भने अनिवार्य गरेको छैन ।

दुई वर्षयता लगातार सीमा नाका बन्द हुँदा अष्ट्रेलियाको पर्यटन व्यवसाय धरासायी बनेको छ । यसले पनि विदेशी पर्यटकका लागि आवागमन खुल्ला गर्न सरकारलाई दबाब परिरहेको छ ।

कुन खोप लगाएकाले मान्यता पाउँछन ?

अस्ट्रेलिया आउन चाहने व्यक्तिले १० प्रकारका खोप मध्ये कुनै एकको पूर्ण डोज लगाएको हुनुपर्ने भनिएको छ । त्यसमा एस्ट्रा जेनिका, कोभिसिल्ड, पिफाइजर, मोडर्ना, सिनोभ्याक, भारत बायोटेक कोभ्याक्सिन, सिनोफर्मा, स्पूतनिक–भी, नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्ति अस्ट्रेलिया आउन पाउने छन् ।

यसमध्ये जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्रै लगाएकोलाई पूर्ण डोज मानिन्छ । सिनोफर्मा खोप भने ६० वर्षभन्दा कम उमेरका व्यक्तिले लगाएको हुनुपर्ने भनिएको छ ।