MENU

तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै ओबामा दम्पती

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनीले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउने भएकाे छ।

बाराक र मिसेलको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्राेडक्सन्स’ले नेटफ्लिक्सका लागि तीन वटा फिल्म, दुई वटा टिभी सिरिज र एउटा डकुसिरिज निर्माण गर्न लागेको छ।

तीन फिल्ममध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा जनाएको छ। बाराक र मिसेलले निर्माण गर्न लागेको फिल्मको नाम ‘तेन्जिङ’ नै हुनेछ।

तेन्जिङ र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

सोलुखुम्बुको थामे गाउँमा सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए।

उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो।

त्यस्तै तेन्जिङसँगै सगरमाथा आरोहण गरेका हिलारी सन् १९१९ जुलाई २० मा न्युजिल्यान्डको अक्ल्यान्डमा जन्मिएका हुन्। उनले धेरै समय नेपालमै बिताएका थिए। उनको सन् २००८ जनवरी ११ मा मृत्यु भएको थियो।

‘तेन्जिङ’मा सगरमाथा आरोही तेन्जिङकै कथा समेटिने नेटफ्लिक्सले जनाएको छ। यो फिल्मको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’मा आधारित भएर लुक डेभिसले लेखेका छन्। यसको निर्देशन जेनिफर पिडमले गर्नेछिन्।

त्यस्तै, बाराक र मिसेलले बनाउने अर्को फिल्म प्रेम कथामा आधारित हुनेछ। याे फिल्म बेलायती–पाकिस्तानी लेखक मोहसिन हमिदकाे उपन्यास ‘एक्जिट वेस्ट’ मा आधारित हुने नेटफ्लिक्सले जनाएको छ।

बाराक र मिसेलले निर्माण गर्ने तेस्रो फिल्म ‘स्याटेलाइट’ हो। यो फिल्म ‘टी स्ट्रीट’ कम्पनीसँग मिलेर निर्माण गर्न लागिएको छ। यो ‘स्टार वार’का निर्देशक रिआन जोन्सन र निर्माता राम बर्गमनको कम्पनी हो।

ओबामा दम्पतीको कम्पनीले दुई वटा टिभी सिरिज पनि निर्माण गर्दै छ।  त्यस्तै, अमेरिकाको राष्ट्रिय निकुञ्जहरुबारे डकुसेरिज बनाउनेछन्।

यी फिल्म, टिभी सेरिज र डकुसेरिज अबका केही वर्षभित्रै रिलिज हुनेछन्। तर, मिति भने घोषणा गरिएको छैन।