MENU

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत

Prime Minister Sher Bahadur Deuba has secured the vote of confidence in parliament Sunday.
Prime Minister of Nepal Sher Bahadur Deuba has secured the vote of confidence in parliament on Sunday 18 July 2021.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत जितेका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा भएको मत विभाजनमा देउवाको पक्षमा १६५ सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको समर्थनमा देउवाले प्रतिनिधि सभामा सुविधा जनक बहुमत पाएका छन् ।

देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएसँगै प्रतिनिधि सभाले आफ्नो पूरै कार्यकाल पूरा गर्ने बलियो आधार देखिएको छ । संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा प्रतिनिधि सभा फेरि विघटनमा जाने खतरा थियो ।

अब प्रतिनिधि सभाले बाँकी १६ महिनाको कार्यकाल पूरा गर्ने संकेत देखिएको छ । २०७४ मंसिरमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो । प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुने भएकोले आगामी २०७९ मंसिरमा अनिवार्य रुपले प्रतिनिधि सभाको चुनाव गर्नुपर्नेछ ।

देउवाको पक्षमा माधव नेपाल समूह मात्र नभइ एमालेको केपी ओली समूहका सांसदले समेत मतदान गरेका छन् । ओली सरकारमा वन मन्त्रीको जिम्मेवारी सम्हालेका प्रेम आले लगायत उनी पक्षीय सांसदले समेत देउवालाई भोट हालेका छन् ।

नेता नेपालले राजनीतिक स्थायित्वका लागि आफूहरुले देउवालाई भोट हालेको बताएका छन् । ‘यो संसदले स्थायित्व दिन सक्दैन भनिएको थियो, आज स्थायित्व दिएर प्रमाणित गरिदिएको छ । सर्वोच्चको फैसलाको उचित कार्यान्वय नभएको छ । निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ, लोकतन्त्र र संविधानको जित हो’ नेपालले भने ।

प्रतिनिधि सभाले बाँकी १६ महिनाको कार्यकाल पूरा गर्ने देखिएपछि अन्तिम समयमा जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई भोट दिएका छन् । यसअघि महन्थ ठाकुरले प्रतिनिधि सभा विघटन गर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिएका थिए ।

विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको काम अगाडि बढाउने भएका छन् ।

याे पनि पढ्नुहाेस् । 

घरमा रहनुहोस् र आफ्नो घरमा आगन्तुकहरुलाई आउन नदिनुहोस्

ग्रेटर सिड्नीमा अत्यावश्यक बाहेकका सेवाहरु शनिवार मध्यरात देखि बन्द हुने