MENU

दोस्रो विश्वयुद्धमा अस्ट्रेलियन फौजले उद्धार गरेका युद्धबन्दी बलबहादुर बस्नेतको बयान

BalaBhadur Basnet

 

एजेन्सी । उमेरले सयको संघारमा हिँडिरहेका बलबहादुर बस्नेत बाग्लुङ गलकोट नगरपालिका–५ भैँसेमा वि.सं. १९७९ मा जन्मिएका हुन् ।

 

उनको बाल्यकाल गोठालो गएर बित्यो । उनले कहिल्यै विद्यालय टेक्न पाएनन् । १६ वर्षकै उमेरमा उनी गलकोटबाट गल्लाको पछि लागेर ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुन पुगे ।

 

खाली खुट्टा, कछाड र दौरा लगाएर गोरखपुर पुगेका उनी दोस्रो विश्वयुद्धमा होमिए । त्यसवेला आफू मरिन्छ भन्ने एकरत्ति पनि नसोचेको उनी सुनाउँछन् ।

 

दोस्रो विश्वयुद्ध सुरु भएकै वर्ष १३ सयजना साथीहरूसहित बलबहादुर गोरा कमान्डरहरूको नेतृत्वमा भारतको बम्बैबाट समुद्री बाटो हुँदै बर्मा, सिंगापुर, इन्डोनेसिया, मलेसिया र इपुको टापुमा लडाइँका लागि पुगे ।

 

उनी त्यो दिन सम्झिँदै भन्छन्न ‘इन्डोनेसियाको ज्वारबारुमा भएको जापानसँगको युद्धमा हामी हायौँ र युद्धबन्दी भयौँ । त्यसवेला हामी जम्माजम्मी तीन सयजति बाँकी थियौँ ।

 

जापानसँगको युद्धमा ज्वारबारुमा हार भइसकेपछि आफ्ना केही साथीलाई गोली हानिएको, केहीलाई निधारमा काठको किला ठोकिएको बलबहादुरले प्रत्यक्ष देखे । उनी भन्छन्, ‘त्यो दिनको घटना आज पनि झलझली सम्झिरहन्छु ।’ पक्राउ परेका तीन सयजना युद्धबन्दीमध्ये कति घाइते र अपांग थिए । न तिनीहरूले पानी पाए, न खाना । त्यतिकै भोकभोकै मरे । बलबहादुर भन्छन ‘साथीहरू पानी माग्दै प्याकप्याक गरिरहेका थिए ।’

 

घाइते र मृतकलाई त्यहीँ छाडेर जम्मा एक सय चारजनालाई भारी बोकाएर जापानी फौजले आफूसँगै लगे । युद्धबन्दी हुँदा जापानी सैनिकबाट अमानवीय व्यवहार भोगेका बलबहादुर भोक खप्न नसकेर घाँस खानुपरेको, रूखका बोक्रा खाएको त्यो कहालीलाग्दो दिन अझै सम्झिन्छन् । भन्छन्, ‘एकातिर जापानीबाट दुव्र्यवहार भोग्यौँ, अर्कोतिर निमोनिया जस्तो महामारीले धेरै साथी मरे ।’

 

युद्धबन्दी भई पक्राउ परेका एक सय चार जनामा जम्मा चारजना मात्रै बाँचेको उनी सुनाउँछन् । दोस्रो विश्वयुद्धमा जापानले हार स्विकारेर बलबहादुरहरूलाई मुक्त गरेर समुद्रको टापुमा छाड्दा उनीहरू जम्मा चारजना मात्रै थिए । त्यसपछि अस्ट्रेलियन फौजले उद्धार गरी डार्विन लगे । अस्ट्रेलियन फौजले लगाउने पाेशाक र २०-२० डलर दिएर बम्बैसम्म पठाउने व्यवस्था गरेको उनी सम्झिन्छन् ।

 

जीवनमा कहिल्यै विद्यालय नदेखे पनि बलबहादुर आफ्नो दृढ इच्छा शक्तिकै कारण भर्ती भएपछि पनि तालिमकै सिलसिलामा पाल्पाका रामबहादुर थापा भन्ने साथीका सहायताले सामान्य लेखपढ गर्न सिके । गाउँमा विद्यालय स्थापना गरेर छोरीहरूलाई पनि पढाए ।

 

बलबहादुरले बाल्यकाल सहितको १६ वर्ष जंगलमा गाई–भैँसी र घाँस–दाउरा गरेर बिताए । त्यसपछिको १६ वर्ष विश्वयुद्धसहित भारत र पाकिस्तानको लडाइँमा बिताए । त्यसपछिको २० वर्ष गाउँमै शिक्षा क्षेत्रको विकासका लागि समर्पित गरे ।

 

हाल भक्तपुरस्थित लोकन्थलीमा साइँलो छोरा मेजर थमन बस्नेत र बुहारीका साथमा उनी बस्दै आएका छन् ।

 

साभार: नयाँ पत्रिका दैनिक, वाईलाईन मन खत्री “सागर”

 

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा ७० हजार डलरको जागिर त्यागेसँगै सुवासको चम्किएको भाग्य