MENU

सिड्नी र न्यू साउथ वेल्सको मुख्य स्थानमा किन चलेन रेल ?

सोमबार बिहान सिड्नी, न्युकासल, सेन्ट्रल कोस्ट, ब्लु माउन्टेन्स र इलावारामा रेल नचल्दा हजारौँको संख्यामा यात्रुहरू प्रभावित भएका थिए।

रेल, ट्राम र बस युनियनसँगको लामो समयदेखि जारी रहेको विवादका कारण न्यु साउथ वेल्स राज्य सरकारले अकस्मातरूपमा रेल सञ्जाल बन्द गरिदिँदा यात्रुहरु प्रभावित भए।

कर्मचारीहरूले ‘आतङ्कवादीले जस्तै’ हर्कत गरेको कारण सुरक्षाका लागि साेमबार दिनभर रेल सेवा अवरुद्ध गरेकाे राज्य सरकारले बताएको छ ।

युनियनले सोमबारदेखि आगामी दुई हप्तासम्म पूर्व निर्धारित सिफ्टमा कुनै परिवर्तन गर्न नपाउने गरी विरोध जनाउने बताएको थियो ।

ट्रान्सपोर्ट फर न्यु साउथ वेल्सले युनियनको माग र त्यसलाई सरकारले कसरी सम्बोधन गर्छ भन्ने कुरा साताको अन्तिमसम्म पर्खने बताएको थियो ।

युनियनको हर्कतका कारण सुरक्षित रूपमा सेवाहरू सञ्चालन गर्न असम्भव भएकाले आइतबार मध्यराततिर रेल सेवा बन्द गर्ने निर्णय लिइएको राज्य सरकारको यातायात तथा सडक सेवा विभागको भनाई छ ।

रेल, ट्राम र बस युनियनका राज्य सचिव एलेक्स क्लासेन्सले रेलका कर्मचारीहरू आन्दोलनमा नउत्रिएकाले केही क्षणको सूचनाको आधारमा सेवा सुचारु गर्न सकिने बताएका थिए ।

सिड्नीको सेन्ट्रल स्टेसनमा बोल्दै युनियनका क्लासेन्सले रेल, ट्राम र बस चलाउनु पैसाको मात्रै कुरा नभएर सेवा पनि भएको बताएका छन् ।

आफूहरूले उठाएको विभिन्न मागहरू सम्बोधन गर्न सरकारले कुनै ठोस् कदम नचालेको युनियनको भनाई छ ।

कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, सर–सफाइ र निजीकरणको चिन्तालाई राज्य सरकारले सम्बोधन गरिनुपर्ने युनियनले बताउँदै आएको छ ।

तर सोमबार यात्रुहरूले पाएको असुविधाका लागि भने सरकार दोषी नभएको राज्यका यातायात मन्त्री डेभिड एलिएटले बताएका छन् ।

आइतबार रातीका लागि बोलाइएको बैठकमा युनियनका तर्फबाट कोही पनि सहभागी नभएको उनले बताए ।

‘सिड्नीको यातायात प्रणालीलाई आतङ्कवादीले गर्ने जस्तै क्रियाकलापका लागि प्रयोग गर्न पाइँदैन’ उनले भने ।

मंगलबार सिमित संख्यामा रेल सेवा संचलन

मंगलबार पनि सिमित संख्यामा रेल सेवा संचलन हुने भएकोले बैकल्पिक ब्यवस्था गर्न सिड्नी ट्रेनले यात्रुहरुलाई अनुरोध गरेको छ ।

मंगलबार ३० मिनेटको फरकमा सिमित लाइनहरुमा रेल सेवा संचालन हुने एन एस डब्लु ट्रान्सपोर्टले जनाएको छ । यात्रुको सहजताको लागि थप १५० वटा बस सेवाहरु थप गरिएको छ ।

अस्ट्रेलियाले खोल्यो अन्तर्राष्ट्रिय सीमा, यात्रुले के–के नियम पालना गर्नुपर्छ ?